मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. ४ मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम बिहीबार सञ्चालन गरिएको छ । सो अवसरमा उक्त वडामा बसोबास रहेका १२४ जना मानिसहरुमा अपाङ्गता भएको पहिचान गरिएको वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिएका छन् ।
उनका अनुसार सिंहदरबारको अधिकार घरघरमा भने झैं अभियानमा सबै लक्षित वर्गको सहभागितामा रहेको र अपाङ्गता भएकाहरूको विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य परीक्षण गरी अपाङ्गता पहिचान र परिचय पत्र वितरण गरिएको हो ।
मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकार र करुणा फाउण्डेशन बीच एक करोड ४२ लाख रुपैयाँको त्रिपक्षीय सम्झौता गरी अपांगताको क्षेत्रमा महत्त्वपूर्ण कार्यक्रम सञ्चालन थालिएको करूणा फाउन्डेसनका मेचीनगर संयोजक पदम बराईलीले बताए ।
मेचीनगरमा अपांगता भएका मानिस, नवजात शिशुको जाँचमा वृद्वि, बाल स्वास्थ्यमा सुधार, अपाङ्गता भएका व्यक्तिहरुको जीवनको गुणस्तरमा सुधार, शिक्षामा पहुँच वृद्वि, परिवारको सशक्तिकरण र जीविकोपार्जनमा सुधार, सामाजिक क्रियाकलापमा पहुँच वृद्धि, क्षमता अभिवृद्धिमा सहयोग, प्रशासन तथा व्यवस्थापन सुदृढीकरणमा सहयोग पुग्ने लक्ष्य लिइएको मेचीनगरले जनाएको छ ।