झापा । झापा गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, आवस्यक पहिचान तथा परिचयपत्र वितरण शिविर बुधबार सम्पन्न गरिएको छ ।
झापा गाउँपालिका, प्रदेश सरकार र करूणा फाउन्डेसनको त्रिपक्षीय लागत साक्षेदारी र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःर्स्थापना कार्यक्रम अन्तर्गत गरिएको शिविरमा ४१२ जनालाई अपांगता परिचयपत्र प्रदान गरिएको छ ।
गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाका अनुसार उक्त संख्या पालिकामा बसोबास रहेका नयाँ पहिचान गरिएका र पुरानाको हो । गाउँपालिकामा मङ्सिर २५ गतेदेखि शिविर शुरु भएर पौष ३ गतेसम्म संचालन भएको थियो । शिविरमा ७२९ जनाले सेवा लिएका गाउँपालिकाले जनाएको छ ।
सात दिनसम्म संचालन भएको शिविरमा पूर्ण अशक्त अपांगता कार्ड (रातो) ११४ जनालाई, अति अशक्त अपांगता (निलो) कार्ड २२१ जनालाई, मध्यम अशक्त अपांगता (पहेँलो) कार्ड ५९ जनालाई र सामान्य अशक्त अपांगता (सेतो) कार्ड १८ जनालाई शिविरस्थलमै प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले जानकारी दिए ।
उनका अनुसार शिविरमा ३६६ जना पुरुष र २६३ जना महिलाहरुले स्वास्थ्य परीक्षण गराएका थिए भने ९० जना अपांगता भएका व्यक्तिलाई नयाँ कार्ड वितरण गरिएको थियो ।