बिर्तामोड । झापको बिर्तामोड कृषि थोक बजारमा प्याज, टमाटर लगायत तरकारीको मूल्य पछिल्ला दिन घट्दै गएको छ ।
आज बुधबार हटिया लाग्ने दिन प्याज प्रतिकिलो अधिकतम ७५ र न्यूनतम ७० रुपैयाँमा कारोबार भएको कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले जनाएको छ । यो थोक मूल्य हो ।
आलुको भाउ केही घटेको छ । रातो आलु (पहाड) ६२.५०, भारतीय रातो आलु ५८, सेतो आलु ५० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ । खासा लसुन २८० रुपैयाँ छ ।
त्यस्तै, धनकुटा र भारतीय पहाडको काउली प्रतिकिलो ८०, तराईको स्थानीय काउली प्रतिकिलो ७०, तराईको ब्रोकाउली १००, रातो मुला ३०, सेतो मुला ३०, लामो भन्टा ४५, डल्लो भन्टा ४५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।
समितिका अनुसार बुधबार गोलभेँडासँगै घिउ सिमी र टाटे सिमीको मूल्य पनि घटेको छ । बिर्तामोडमा पाँचथर र धनकुटाको टमाटर ५७ रुपैयाँ, भारतीय टमाटर ५५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।
त्यस्तै, घिउ सिमी प्रतिकिलो अधिकतम १०० रुपैयाँ र टाटे सिमी पनि १०० रुपैयाँमा थोक कारोबार भएको छ । यी सिमी खुद्रा १४० रुपैयाँमा बेच्न राखिएको छ ।
तने बोडी १२०, मटरकोसा १२०, तिते करेला १००, लौका ५०, स्थानीय परवर ८०, भिन्डी १२०, बरेला अधिकतम ५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।
रायो साग ४० रुपैयाँ प्रतिमुठा, पालुंगो साग, चमसुर साग, मेथी साग, सुप साग, हरियो धनियाँ र तोरीको साग ६० रुपैयाँ प्रतिकिलो छ । इस्कुस १५, तरुल १००, कन्य च्याउ १५०, डल्ले च्याउ ३२० रुपैयाँ प्रतिकिलो छ ।