काठमाडौं । फिल्म ‘लाज शरणम्’ टिमले क्यान्सर पीडित नवराज न्यौपानेलाई ५० हजार रुपैयाँ उपचार खर्च सहयोग गरेको छ ।
निर्देशक कुमार कट्टेल ‘जिग्री’, कलाकारहरु अर्जुन घिमिरे ‘पाँडे’, हरिश निरौला ‘क्रकोच’ लगायतले दुई वर्षदेखि क्यान्सरसँग जुधिरहेका न्यौपानेलाई उनकै निवासमा पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् । उनीहरुले न्यौपानेलाई आत्मबल बढाउन हौसला समेत प्रदान गरे ।सिन्धुपाल्चोकका न्यौपाने कुवेतमा काम गरिरहँदा ब्लड क्यान्सर देखा परेपछि दुई वर्षअघि नेपाल आएका थिए । अहिले उपचाररत न्यौपानेलाई आर्थिक अवस्था कमजोर भएकाले थप उपचारमा कठिनाइ भइरहेको छ । न्यौपाने साहित्य सिर्जना समेत गर्छन् ।
चर्चित टिभी सिरिज ‘सक्किगो नि’ टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’ आगामी फागुन १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।