मेचीनगर । थोप्लेबिरान सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २९औँ वार्षिक साधारण सभामा ५ जना एकल संघर्षशील महिलाहरुलाई कदरपत्र प्रदान गरी सम्मान गरेको छ ।
मेचीनगर ९ स्थित समूहको कार्यालय परिसरमा सोमबार सम्पन्न साधारण सभामा एकल संघर्षशील महिलाहरु खिनमाया सुवेदी, शुसिला राजवंशी, धनमाया फुयाँल, बिना पाठक र फूलकुमारी दनुवारलाई कदर पत्रद्वारा सम्मान गरिएको हो ।
विपन्न परिवारका राजवंशी, दनुवार र पाठकलाई संस्थाले यसअघि गरिवी न्यूनीकरण कार्यक्रम अन्तरगत घर निर्माणका लागि जनही नगद २५ हजार रुपैयाँका दरले सहयोग गरेको थियो ।
पाँचैजना एकल संघर्षशील महिलाहरुको समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका रहेको संस्थाको भनाई छ ।
सोही अवसरमा मेचीनगर–१० स्थित कोनिस्का ओभरसिज प्रालिका सञ्चालक रजनिस कर्नानीलाई पनि सम्मान गरेको छ ।
सञ्चालक कर्नानीले संस्थालाई ५० हजार मूल्य बराबरको विउ गोरु उपलब्ध गराएका थिए ।
सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथि मेचीनगर ९ का वडाध्यक्ष कञ्चनकुमार तामाङ, संस्थाका अध्यक्ष कृष्ण कोइराला, सचिव जानुका ओली लगायतले कदर पत्र र प्रशंसा पत्रद्वारा सम्मान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष तामाङ, सब डिभिजन वन कार्यालयका प्रमुख सुरज निरौला, नेपाली कांग्रेस झापाका पूर्व सचिव प्रेम सम्वाहाम्फे, सामुदायिक वन जिल्ला महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, मागुरमाढी सामुदायिक वन उपभोक्ता समूह विट नं. १ का अध्यक्ष अम्बर लिम्बू लगायतले मन्तव्य राखेका थिए ।
आ. व. २०८०/८१ को करिव २५ लाख १५ हजार रुपैयाँको लेखा प्रतिवेदन संयोजक चन्द्रमणि विष्टले प्रस्तुत गरेका थिए ।
यस्तै बजेट मस्योदा समितिका संयोजक रुद्र फुयाँलले चालु आ. व. २०८१/८२ का लागि ३० लाख रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेका थिए ।
संस्थाले लोप हुन लागेको कर्मा जातको मुख्य प्रजातिको संरक्षणका लागि डिभिजन वन कार्यालय झापासँग सहकार्य गरेर एउटा ब्लकमा उत्पादन गरिने बताएको छ ।
त्यस्तै पूर्वको टिमाई खोलाको नदी उकास क्षेत्रमा पर्यापर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यले भूमिगत जलाधार संरक्षण अन्तरगत जंगली जनावरहरुलाई पानी खुवाउन २ वटा पोखरी निर्माणका लागि संस्थाले बजेट छुट्टाएको जनाइएको छ ।
थोप्लेबिरान सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्ण कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष नवराज फुयाँलले शाब्दिक स्वागत र सचिव जानुका ओलीले सञ्चालन गरेकी थिइन् ।