२०८१ पौष २, मङ्गलवार , ११:५६:३७ बजे

Sajhamanch
'

दमकको हिमालय चिया बगानका मजुदरलाई घर खाली गर्न आदेश

मङ्गलवार, पौष २, २०८१

दमक । झापा दमकको हिमालय महालक्ष्मी टि गार्डेन एन्ड फार्मिङ प्रालिले मजदुरहरूलाई ‘घर खाली गर्नू’ भनी पत्राचार गर्न थालेको छ ।

पूर्वराजाको चिया उद्योगको व्यवस्थापन सोल्टी समूहले हेरिरहेको छ । तर, व्यवस्थापनले सेवानिवृत्त कर्मचारी र मजदुरका नाममा पत्र पठाउँदै घर खाली गर्न निर्देशन दिएपछि मजदुरहरू ‘बिचल्ली हुने हो कि’ भनेर सशंकित छन् ।

हिमालय टी गार्डेनमा २०१८ सालदेखि मजदुरी गरेकाहरूका छोरानातिको जीवन आधा भइसकेको मजदुर नेता तथा दमक ९ का वडा सदस्य नरेश सुनुवारले बताए ।

पहिलेका निर्देशकले यही बस्नु भनेका थिए । हालका व्यवस्थापनले हट्नुस भन्दै पत्राचार गरेको उनले सुनाए ।

पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ पीपल बस्ती र दक्षिणतर्फको गणेश टोलमा बगानमा काम गरेर ‘रिटायर्ड’ भएका बढीमा २० सहित ११८ घरधुरीको बसोबास छ ।

बगानले नै उपलब्ध गराएको जमिनमा उनीहरूले घर बनाएका छन् । ती बस्ती दमक वडा नम्बर ४ र ९ मा अवस्थित छन् ।

मजदुर नेता सुनुवारका अनुसार केही समयअघि युनियनको कार्यालय खोल्दासमेत विवाद हुन पुग्यो । व्यवस्थापनले अवरोध गरेपछि मजदुरले विरोध गरे ।

बगान व्यवस्थापनले बस्ती भएको ठाउँमा स्थानीय सरकारका तर्फबाट ल्याइएका विकासका योजनामा समेत अवरोध गरिरहेको छ ।

सामुदायिक भवन निर्माण गर्न विनियोजन गरेको बजेट काम गर्न नदिइएपछि ‘फ्रिज’ हुन पुग्यो ।

गत साउनमा बेलडाँगी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले दमक–४ मा अवस्थित बस्तीमा खानेपानी विस्तार गर्न पाइप जडानको काम सुरु गरेको थियो ।

तर, बगान व्यवस्थापनले रोकिदियो । बेलडाँगी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अनुसार बगान व्यवस्थापनले ‘अस्थायी बस्तीमा खानेपानीको पाइप विस्तार गरिरहन आवश्यक नभएको’ दलिल पेश गरेको थियो ।

यो टि गार्डेनको नाममा दमकमा करिब ६०० बिघा जग्गा रहेको छ ।

सम्बन्धित खबर