२०८१ माघ ८, मङ्गलवार , ११:११:४३ बजे

Sajhamanch
'

बिर्तामोडमा पुस ५ गतेदेखि अपाङ्गता भएका व्यक्तिहरुको लागि शिविर आयोजना हुँदै

मङ्गलवार, पौष २, २०८१

बिर्तामोड । बिर्तामोडमा पुस ५ गतेदेखि अपाङ्गता भएका व्यक्तिहरुको लागि शिविर आयोजना हुने भएको छ ।

करुणा फाउण्डेसनसंँगको सहकार्यमा सञ्चालित अपाङ्ग‌ता रोकथाम तथा पुन: स्थापना कार्यक्रम अन्तरगत नगरका सबै वडामा अपाङ्‌ग‌ता भएका व्यक्तिहरुको पहिचान तथा स्वास्थ्य परिक्षण शिविर संचालन हुने भएको हो ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले शिविर सम्पन्न गर्नका लागि सबैले सहयोग गर्नुपर्ने आवश्यकतालाई औंल्याएकी छन् । सामाजिक कार्यमा जोड दिँदै उनले जनप्रतिनिधि, कर्मचारी, टोलविकास संस्था लगायत सामाजिक संघ संस्थाले शिविरमा सहयोग पुर्याउन आग्रह गरेकी हुन् ।

नगर उपप्र‌मुख नगेन्द्रप्रसाद संग्रौलाले अपाङ्गता भएका व्यक्तिहरुको लगत संकलन अझै प्रभावकारी ढंगले अगाडि बढाउनु पर्ने बताए । अहिलेसम्म भएको ४३ प्रतिशत लगत संकलन कमी भएको भन्दै कुनै पनि प्रकारका अपाङ्गता भएका व्यक्ति छुट्न नहुने उपप्रमुख संग्रौलाले बताए ।

सो शिविरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य उपचार मात्र नभई उनीहरुको शारीरीक जटिलता र आवश्यकताको विषयमा समेत लगत संकलन हुने करुणा फाउण्डेसनका वरिष्ठ व्यवस्थापक कमल कोइरालाले जानकारी दिए ।

शिविरमा हार्डजोर्नी तथा नसा रोग, नाककान घाँटी, आँखा, फिजियोथेरापिष्ट, मेडिकल डाक्टर, मनोचिकित्सक लगायतका विशेषज्ञहरुको व्यवस्था हुने छ ।

स्थानीय अपाङ्ग‌ता समन्वय समितिका संयोजकसमेत रहेका नगर उपप्रमुख संग्रौलाको अध्यक्षता तथा नगरप्रमुख प्रसाईको प्रमुख आतिथ्यतामा आयोजित बैठकले १० वटा वडामा शिविर सञ्चानको मिति तय गरेको हो ।

तालिका अनुसार पुस ५ गते ६ नम्बर वडा कार्यालय, पुस ६ गते १ नम्बर वडा कार्यालय, ७ गते वडा नम्बर २ को वीर अमरसिंह माध्यमिक विद्यालय, ८ गते ८ नम्बर वडा कार्यालय, ९ गते वडा नम्बर ९ को शहिद लक्ष्मी प्रावि, १० गते वडा नम्बर १० को वडा कार्यालय, ११ गते वडा नम्बर ४ को पशुपंछि तथा मत्स्य विकास शाखाको कार्यालय, १२ गते वडा नम्बर ५ को देवी माध्यमिक विद्यालय, १३ गते वडा नम्बर ७ को जनता प्रावि र १४ गते वडा नम्बर ३ को महेन्द्र रत्न माध्यमिक विद्यालयमा शिविर सञ्चालन हुने छ ।

शिविर तयारीको विषयमा नगरपालिकामा आयोजित बैठकमा  वडाअध्यक्ष, कर्मचारी र करुणा फाउण्डेसनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर