२०८१ पौष २, मङ्गलवार , १२:२०:१४ बजे

Sajhamanch
'

अहा ! जाडो सिजनमा भाक्का, मौषमी व्यापार बढ्दै

मङ्गलवार, पौष २, २०८१
  • द्रोण अधिकारी

भद्रपुर । जाडोयाम सुरु भएसँगै पूर्वी तराइका अधिकांश चोक बजारमा भाक्का खानेको भीड देखिने गरेको छ । झापा र मोरङका आदिवासी राजवंशी समुदायको विशेष परिकार भाक्का अहिले बिहानी खाजाको रुपमा लोकप्रिय छ । हरेक वर्ष झैं यो हिउँद याममा पनि भाक्का खानेको लहर नै देखिन थालेको हो ।

कुनै रसायन नमिसाइकन धानको पिठोबाट बनाइने भाक्का पोषिलो, स्वादिलो र अडिलो हुनेहुँदा अधिकांश मानिसहरूले यसैलाई बिहानको खाजा र साँझको खानाको रूपमा पनि प्रयोग गर्ने गरेका छन् ।

आदिवासी समुदायका महिलाहरूले बिहान झिसमिसेदेखि नै राजमार्ग किनारमा, गाउँ तथा शहरका चोक र गल्लीहरूमा माटाको हण्डीमा पानी उमालेर बाफमा भाक्का पकाएर बिक्री गर्ने गर्दछन् । यसरी पकाएको भाक्का बच्चादेखि बृद्धबृद्धाको बिहानको खाजा हुने गरेको छ । भाक्का बनाउने महिलाहरूको मौषमी व्यापारका रूपमा आय आर्जनको माध्यम पनि बन्ने गरेको छ ।

पूर्वी तराईको लोकप्रिय खाजाको रूपमा रहेको भाक्का विगतमा राजवंशी समुदायका महिलाहरूले मात्र बनाउने गर्दथे । तर अचेल मौषमी व्यापार हुन थालेपछि अन्य समुदायका महिलाले पनि पकाएर बेच्न थालेका छन् । हालसम्म भाक्का पकाउने काममा पुरुषको संलग्नता कतै पनि देखिएको छैन ।

भाक्काको लोकप्रियता बढेपछि मेचे, धिमाल, ताजपुरिया र थारू महिलाहरूले समेत यसको व्यपार थालेका छन् । यसले राष्ट्रियस्तरमा पहिचान पाइसकेका कारण आठ वर्षदेखि निरन्तर प्रत्येक वर्ष पुस २९ गते झापामा भाक्का दिवस मनाउन थालिएको छ । आदिवासी राजवंशी समुदायले आफ्नो मौलिक पहिचानका रूपमा भाक्का दिवस मनाउन थालेपछि यसको व्यापार अझ बढेर गएको व्यवसाय गरिरहेका महिलाहरू बताउने गर्छन् ।

भाक्का बनाउन धानको चामललाई पीठो बनाएर सानो आकारको बटुकामा कपडाले बेरेर बाफमा केहिबेर पकाइन्छ । चिया र अचारसँग खाँदा भाक्का स्वादिलो हुने कारण सबै समुदाय र वर्गका मानिस यस परिकारलाई रूचाएर खाने गर्छन् ।

परम्परागत रूपमा राजवंशी समुदायको मौलिक खानेकुरा भाक्का भनिए पनि यसको पहिचानको क्षेत्र बढेसँगै सबै समुदायको साझा परिकार हुँदै जाँदा मौषमी व्यपारसमेत बढ्ने गरेको छ ।

सम्बन्धित खबर