काठमाडौं । विवाहित, एकल महिला र एकल आमाले सहभागिता जनाउन सक्ने सौन्दर्य प्रतियोगिता ‘मिसेस भोग नेपाल’को दोस्रो संस्करण आयोजना हुने भएको छ । हाउस अफ फेसनले प्रतिस्पर्धाको आयोजना गरेको हो ।
अडिसन दरबारमार्गस्थित पेन्टहाउसमा हुने भएको छ । प्रतियोगितामा भाग लिन १८ वर्ष उमेर पुरा हुनुपर्ने जनाइएको छ । अडिसनको निर्णायकमा गीता गरुङ, एलिजा गौतम, रेनुका श्रेष्ठ, पूजा पाख्रिन र रिश्मा केसी छन् ।
उपाधि विजेताले थाइल्याण्डमा आयोजना हुने मिसेस टुरिजम क्वीन इन्टरनेसनलमा भाग लिन पाउने जनाइएको छ । ५ लाख रुपैयाँ बराबरको उपचार, मोडलिङ सम्झौता, विभिन्न ब्राण्डसँग आबद्ध हुने अवसर पनि पाउने विज्ञप्तिमा उल्लेख छ ।हाउस अफ फेसनले अघिल्लो अघिल्लो वर्षदेखि मिसेस भोग नेपाल आयोजना गर्न थालेको हो । प्रतियोगिताले महिला सशक्तिकरणको उद्देश्य लिएको छ ।
‘मिसेस भोग नेपाल एउटा त्यस्तो प्लाटफर्म हो, जहाँ विवाहितमात्र होइन, एकल महिला, एकल आमाले समेत सहभागिता जनाउन सक्नेछन्’ आयोजक संस्थाकी प्रमुख ओसिमा बानुले भनिन् । उनका अनुसार भाग लिन उचाइ, तौला, रङ र जातको मापदण्ड तोकिएको छैन ।