![](https://sajhamanch.com/wp-content/uploads/2024/12/Sikha-Birthday-with-senior-woman.jpg)
बिर्तामोड । विगतदेखि नै आफ्नो जन्मदिनको अवसरमा विभिन्न रचनात्मक कार्य गर्दै आएकी संयुक्त महिला आवाज नेपालकी केन्द्रीय अध्यक्ष शिखा खड्का गणेशले यसवर्ष एकजना दृष्टिविहीन असहाय महिलालाई सहयोग गरेर जन्म दिन मनाएकी छन् ।
विगत ६ वर्षदेखि सामाजिक क्षेत्रमा क्रियाशील खड्काले यसवर्ष आफ्नो जन्मदिनमा बिर्तामोड–२ बालुवाटार बस्ने दृष्टिविहीन असहाय एकल महिला ५७ वर्षीया धामुसरी राजवंशीलाई खाद्यान्न सामग्री दिएकी हुन् ।
जन्मदिनको बहानामा गरिने फजुल खर्चलाई कटौती गरी आफूले दीन दुःखीहरुलाई सहयोग गर्दै आएको उनले बताइन् । विगतका वर्षहरुमा पनि उनले बाल आश्रम र बृद्धाश्रममा जन्मदिन मनाएकी थिइन् ।
यसैबीच संयुक्त महिला आवाज नेपाल बाह्रदशी शाखाको आयोजनामा सेनेटरी प्याड बनाउने तीन दिवसीय तालिम सम्पन्न भएको छ । बाह्रदशी–५ मा सम्पन्न तालिममा ५० जना महिला सहभागी रहेको बताइएको छ ।
बाह्रदशी ५ नं वडा कार्यालयको सहयोग रहेको तालिममा निता कार्की र हेमकुमारी श्रेष्ठले सहजीकरण गरेका थिए । तालिम लिएका महिलाहरुलाई स्वआर्जनमा लगाउन वडा कार्यालयले सहयोग गर्ने प्रतिवद्धता पनि जनाएको छ ।
यसअघि संयुक्त महिला आवाज नेपालको आयोजनामा हल्दिवारीमा नौमती बाजा बजाउने तालिम गरिएको थियो । महिलाहरुलाई स्वरोजगार र स्वाबलम्बी बनाउन त्यस्ता आयमूलक र सीपमूलक तालिमहरु आयोजना गरिएको अध्यक्ष खड्काले बताइन् ।
गतवर्षको भदौमा महिलाहरूको हक, अधिकार संरक्षण एवं बाल अधिकारको क्षेत्रमा कार्य गर्ने उद्देश्यले संयुक्त महिला आवाज नेपाल नामक संस्था गठन गरिएको थियो ।
बिर्तामोड नगरपालिका–२ निवासी खड्काको अध्यक्षतामा उक्त संस्था गठन गरिएको हो । खड्का यसअघि महिला हिंसा न्यूनीकरणका लागि कार्यरत संस्था मेची–महाकाली बुहारी संयुक्त आवाजको संस्थापक झापा अध्यक्ष थिइन् ।