बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ३ का विभिन्न टोलमा सडक निर्माण तथा स्तरोन्नतिका काम धमाधम भइरहेका छन् ।
संघ, प्रदेश, नगरपालिका र वडाको आफ्नै बजेटमा प्लम निर्माण, कालोपत्रे, पेवर्स लगाउने, कल्भर्ट निर्माण लगायतका कामहरु भइरहेका हुन् ।
अहिले शुभलक्ष्मी टोल नम्बर ४ को २४६ मिटर सडकमा प्लम निर्माण कार्य भइरहेको वडा नम्बर ३ का वडा सदस्य हरि बाँस्कोटाले जानकारी दिए । प्लम निर्माणको काम उपभोक्ता समिति मार्फत भइरहेको उनले बताए ।
निर्मल उप्रेतीको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको छ । उपभोक्ता समितिको ९७ हजार र वडाको ४ लाख रुपैयाँ गरी कुल ४ लाख ९७ हजार रुपैयाँ बजेटमा काम भइरहेको वडासदस्य बाँस्कोटाले जानकारी दिए ।
आगामी बैशाख महिनासम्ममा काम सम्पन्न गर्ने गरी निर्माण कम्पनी झापाली विल्डर्ससँग सम्झौता भएको जनाइएको छ । सम्झौता अनुसार धमाधम काम अघि बढेको निर्माण कम्पनीका डिकबहादुर कुँवरले जानकारी दिए ।