२०८१ माघ १२, शनिवार , १२:२५:४३ बजे

Sajhamanch
'

निर्माणाधिन अलपत्र जीपी भवन र अरनिको मावि पूरा गर्न माग

मङ्गलवार, मंसिर २५, २०८१
  •  द्रोण अधिकारी

भद्रपुर । झापा सदरमुकाम भद्रपुर क्षेत्रमा बहुवर्षे आयोजनाका रूपमा निर्माण थालिएर वर्षौंयता अलपत्र छाडिएका दुई महत्वपूर्ण संरचनाको निर्माण सम्पन्नताको माग राखेर भद्रपुर नगरपालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाली राजनीतिको पछिल्लो उपलब्धी संघीय गणतन्त्र नेपालको प्रतीकका रूपमा निर्माण थालिएको गिरिजाप्रसाद कोइराला स्मृति भवनको निर्माण अलपत्र भएको वर्षौं भइसकेको ज्ञापनपत्रमा उल्लेख छ । यस्तै सिमान्तकृत विद्यार्थी अध्ययन गरिरहेको अरनिको मावि भवन पनि निर्माण रोकिएर डेढ दशक पार गरेको भन्दै कानुनी प्रकृया मिलाएर ती भवन निर्माण सम्पन्न गराउन सरकारलाई ध्यानाकर्षण गरिएको हो । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले प्रधानमन्त्री ओलीलाई टुरमुकाम झापामा नै भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।

संघीय गणतन्त्र नेपालको प्रतीकका रूपमा कोशी प्रदेश कै ठूलो सभाहलसहित बहुउपयोगी भवनको अवधारणा लिएर झण्डै एक दशक अघि निर्माण कार्य थालनी भएको गिरिजाप्रसाद कोइराला स्मृति भवन निर्माण रोकिएर अलपत्र बनेको पनि ६ वर्ष पूरा भएको छ ।

भद्रपुर ८ स्थित मेची रङ्गशाला पश्चिममा रहेको झापा जिल्लाकै गौरवको आयोजना भनिएको उक्त स्मृति भवनको निर्माण कार्य गणतन्त्र नेपालको प्रतीकका रूपमा ९ वर्ष अगाडि निर्माण थालिए पनि काम रोकिएकै कारण सम्पन्नताको मितिसमेत गुज्रिएर अलपत्र परेको छ ।

२०७२ साल असार २८ मा तत्कालिन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशिल कोइराला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, तत्कालीन सांसद कृष्णप्रसाद सिटौला, तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले भव्य समारोहका बीच संयुक्त रूपमा जिपी भवनको शिलान्यास गरेका थिए । सोही तथ्यलाई सम्झाउँदै नगरपालिकाले प्रधानमन्त्री झापा आएको बेला कानूनी जटिलता भए हटाएर निर्माण सम्पन्नको वातावरण निर्माण गर्न माग गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट र तत्कालीन जिल्ला विकास समिति (हाल जिसस) को स्वामित्वमा भवन बन्न सुरु भएको थियो । प्रेरा–शाह जेभी निर्माण कम्पनीले १२ करोड ७२ लाख ६९ हजार रूपैयाँको लागतमा भवन निर्माणको ठेक्का लिएको थियो । दुई वर्षभित्र अर्थात् २०७४ असोज २८ गतेसम्म भवनको काम सम्पन्न गरिसक्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ ।

निर्माणाधीन भवनको लम्बाई ५३ मिटर र चौडाइ ३४ मिटर रहेको छ । सो भवनको पहिलो तलामा व्यावसायिक उद्देश्यका लागि २७ वटा सटर निर्माण गरिनेछ । त्यस्तै दोस्रो तलामा दुई वा तीन वटा बैंक अटाउने फ्ल्याट र तेस्रो तलामा एक हजार मानिस अटाउने क्षमताको अत्याधुनिक सभाहल बनाइने गरी प्लानिङ गरिएको छ ।

जसमा ९६ वटा पिलर रहेका छन् भने प्रत्येक पिलर दुई फिट दुई इन्चको वर्गाकारमा फैलिएका छन् । नौ वर्षको अवधिमा निर्माण कम्पनीले तीन तलाको फाउन्डेसन उठाएर त्यत्तिकै छाडिदिएको छ भने भवन निर्माणको काम बन्द भएको पनि ६ वर्ष पूरा भइसकेको छ ।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले करिब ९ करोड रुपैयाँ खर्च भइसकेर पनि जीपी भवनले पूर्णता पाउन नसक्नु दुःखद भएको अवगत गराउँदै प्रधानमन्त्री ओलीलाई आफ्नो नगरमा अलपत्र परेको यो भवनको पूर्णताका लागि आफूले पदभार सम्हालेयता लगातार पहल गर्दै आएको तर उपलब्धि हासिल हुन नसकेको जानकारी दिए । उनले कुनै बाधा–अड्चन भए सरकारले तत्काल निर्णय गरेर ती अड्चन फुकाएर यथाशीघ्र भवन निर्माण गर्नेतर्फ सोचिदिन प्रधानमन्त्रीलाई आग्रह समेत गरेका थिए ।

यस्तै साविक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका ३ सूर्यनगरस्थित अरनिको माध्यमिक विद्यालयको अलपत्र अवस्थामा छाडिएकै भवनमा विद्यार्थी वर्षौंदेखि जोखिम मोल्दै पठनपाठन गर्न बाध्य छन् । ३२ कोठे दुईतले विद्यालय भवन अधुरो छाडेर निर्माण कम्पनीका ठेकेदार सम्पर्कविहिन बनेको पनि वर्षौ भयो ।

तत्कालिन जिल्ला विकास समितिको मातहतमा निर्माण थालनी भएको भवन निर्माणको स्वामित्व विवादसमेत रहँदा भवन नबनेकाले कक्षा कोठामा बिजुली बत्ती, पंखा जडान हुन सकेको छैन । खानेपानी र शौचालयको समस्या पनि त्यस्तै छ । विद्यालयको गेटसँगै वरिपरि घेराबारा नहुँदा विद्यार्थी र शिक्षक दुवै असुरक्षित महसुस गर्न बाध्य छन् । विद्यालयले १४ वर्षयता सुविधा सम्पन्न भवनको आशमा कष्ठकर पठनपाठन गरिहेको छ ।

भारतीय दुतावासको आर्थिक सहयोगमा सुविधा सम्पन्न भवन बन्ने आश देखाइएपछि २०६७ सालमा काठेभवन हटाएर पक्की भवन निर्माण थालिएको विद्यालय निर्माण अलपत्र पर्दा कष्टकर पठनपाठन भइरहेको छ । २०६७ सालमा ३ करोड ८६ लाखमा राजधानी कन्स्ट्रक्सन काठमाडौंका सुवास लामाले भवन निर्माणको लागि ठेक्का लिएर करिव चार वर्षपछि अर्थात् २०७१ साल चैतदेखि भवन निर्माणको काम सुरु गरे पनि बिचमा काम अलपत्र छाडेपछि समय गुज्रिएर म्याद थप भएको छैन । २०७४ साल देखि भवन निर्माण खातामा १५ लाख जति रकम भुक्तानी नभइ खातामा नै रहेको जनाइएको छ ।

सम्बन्धित खबर