२०८१ पौष २७, शनिवार , ०१:५०:५८ बजे

Sajhamanch
'

शिवसताक्षीमा एउटै प्लटको तीन कठ्ठा जग्गामा १०७ प्रजातिका धानको संरक्षण 

मङ्गलवार, मंसिर २५, २०८१
  • सरोज भट्टराई 
शिवसताक्षी । झापाको शिवसताक्षीमा रैथाने जातका १०७ जातका धान संरक्षण गरिएको छ । शिवसताक्षीको वडा नं. ७ चन्द्रडाँगीमा रहेको कञ्चन जैविक विविधता संरक्षण विकास समितिले रैथाने १२० प्रजातिका धान संरक्षण गरेको हो । जैविक विविधता संरक्षणले यसवर्ष १०७ प्रजाति धानहरु एकै ठाउँमा फलाएर विउको संरक्षण गरेको जनाएको छ ।
शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको तीन कठ्ठा जग्गामा विभिन्न प्रजातिका धान फलाइएको कञ्चन जैविक विविधता संरक्षण विकास समितिका अध्यक्ष डिल्ली पौडेलले जानकारी दिए । उनले रैथाने धानको संरक्षणका लागि देशभरिबाट सङ्कलित धानलाई एउटै जग्गामा रोपेर फलाइएको बताए ।
‘पुरानो रैथाने बाली लोप हुँदै गएका कारण तिनको संरक्षणमा हामी जुटेका हौं’ उनले भने ‘कालो नुनियाजस्ता लोप भइसकेका धानको विभिन्न प्रजातिलाई खोजेर फेरि किसानको खेतबारीमा फलाउने हाम्रो प्रयास सफल भएको छ ।’ नेपाल सरकारले पनि एकै ठाउँमा १०७ जातका विउ संरक्षण नगरेको अध्यक्ष पौडेलको दावी छ । पौडेलका अनुसार कालो नुनिया धानको भात मिठो र प्रतिमनकै ४ हजार रुपैयाँको दरले बिक्री हुने भएका कारणले पनि किसानले खोजी खोजी धान लगाउन थालेका छन् ।
संरक्षण गरेको केही विउ किसानलाई पनि बाँढ्दै आएको जैविक विवधता संरक्षण समितिले जनाएको छ । जसमा कालो नुनिया धानको माग अत्याधिक बढेको छ । कञ्चन जैविक विविधताका अनुसार कालो नुनिया मात्र किसानलाई ५ देखि ७ टन धान विउकै रुपमा बिक्री गरिँदै आएको छ ।
जुम्लामा फल्ने मार्सीदेखि पूर्वी पहाडको इलाममा पाइने दूधराज प्रजातिको धान उक्त खेतमा फलाइएको छ । बासमतीका रातो, पहेँलो, कालो र टुँडे प्रजातिका धानसमेत त्यहाँ फलाइएको छ । समितिले रैथाने धान फलाइएको खेतलाई ‘प्रदर्शनी ब्लक’ नाम दिएको छ ।
वि.सं. २०६५ मा समितिको स्थापना भएको र त्यसको एक वर्षपछि झापाको शिवसताक्षी वडा नं ७ मा रैथाने बालीको बिउ बैंक स्थापना गरिएको हो । विउ संरक्षणका लागि शिवतसाक्षी नगरपालिकाले खर्चको ५० प्रतिशत व्यर्होदै आएको अध्यक्ष पौडेलले जानकारी दिए ।
शिवसताक्षी नगरपालिकाले पनि कालो नुनिया धानमा अनुदान दिँदै आएको जनाएको छ । गएको वर्षमा अनुदानका लागि ६०० कठ्ठा निवेदन परेको थियो भने यसवर्ष ३०० कठ्ठा निवेदन परेको शिवसताक्षी नगरपालिका कृषि शाखा प्रमुख रविन भट्टराईले जानकारी दिए ।
नगरपालिकाले प्रत्येक ५ कठ्ठा बराबर ५०० रुपैयाँ अनुदान दिदै आएको शिवसताक्षी नगरपालिका कृषि शाखाले जनाएको छ । नगरमा अनुदानका लागि निवेदन कम परे पनि नगरभित्र ६०० विगाह क्षेत्रफलमा कालो नुनिया धान लगाइएको कृषि शाखा प्रमुख भट्टराईले जानकारी दिए । कालो नुनिया धान उत्पादनका लागि शिवसताक्षीको वडा नं. १, ४, ७ र १० पकेट एरिया मानिन्छ ।
शिवसताक्षी नगरपालिकाले १०७ प्रजातिका धानहरुको निरीक्षण पनि गरेको छ । नगरपालिकाका उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफे लगातको टोलीले उक्त धानको निरिक्षण गरेको हो ।
नगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको र रैथाने लोपोन्मुख धान संरक्षणका लागि नगरपालिकाले पनि सहयोग गरिरहेको उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् । उनले लोप हुँदै आएको रैथाने बालीलाई संरक्षण गरेर कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले मुलुकको कृषि क्षेत्रलाई नै योगदान पुर्याइरहेको बताइन् ।
धानका जातहरु :
कतारखेरा, कालो टुँडे बासमती, जङ्गली मन्सुली, रुद्राक्ष, जुङ्गे कालो बासमती, नाजिर, रातो बच्छी, चुल्ठे, बेलगुठी, रातो हाप्सा, होडबच्छी, सेतो बासमती, हाडीफोर, भोटाङे, चम्पासरी, सानो चनाचुर, अनदी, धनकुटे, लालबच्छी, बिरिमफूल, छोटी बासमती, रातो बासमती, रातो अनदी, गोडरा, अम्बरध्वज, दिरुवा, बदलधान, अनदी सेतो, झहर धान, समल चौरी, कोमल धान, गौमा धान, कनकजिर बासमती, कालो रातो अनदी, जिरासरी, अट्टे, राँगा धान, दुधराज, रासधान, मार्सी, अण्डी धान, अनदी रातो, हंसराज, रातो स्थानीय, तिल्की, रातो टुँडे बासमती, श्यामजिरा, घिउकुमारी, दोसरा, ठूलो मनसरा, सिकिचन, रामबेला, आपझुत्ते, जर्नेली, घिउपुरी, झिनुवा, मिडिया अनदी, थापाचिनी, सेते धान, कालो नुनिया ठूलो, साधारण कालो नुनिया, कालो नुनिया–१, कालो नुनिया–१०, हरिनकेर, परेवा प्वाँख, बामन चिनी, मधुमाला, मधुकर, पुलिङटार, कालो तृलसी, कस्तुरी, बुढीडाइन–३, बङ्गलादेशी, अनमोल ५५, अनमोल कालो टुँडे र बाघजुङ्गे ।
संरक्षित हिउँदे अन्य बालीहरु :
संरक्षण समितिले धानमात्र नभई हिउँदे बालीको पनि विऊ उत्पादन गरी संरक्षण गर्दै आएको छ । जसमा दुई जातिको मकै, तीन जातिको कोदो, दुई जातिको फापर, आठ जातिको कात्तिके बोडी, १३ जातिको हिउँदे सिमी, पाँच जातिको फर्सी, पाँच जातिको लौका, छ जातिको घिरौंला, तीन जातिको मास, एक जातिको करेला, एक जातिको बकुल्ला, दुई जातिको पोइसाग, एक जातिको तोरी, एक जातिको फिलुङ्गे र एक जातिको पोथ्रे सिमी रहेका छन् ।

सम्बन्धित खबर