२०८१ पौष ८, सोमवार , ०८:०९:४९ बजे

Sajhamanch
'

बालिका बलात्कारको आरोपमा पक्राउ परेका बिर्तामोडका पूर्व नगरप्रमुख शिवाकोटी अस्पताल भर्ना

मङ्गलवार, मंसिर २५, २०८१

झापा । बालिकालाई जबरजस्ती करणी (बलात्कार)गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटी अस्पताल भर्ना भएका छन् ।

उनलाई बीएण्डसी अस्पतालमा सोमबार साँझ भर्ना गरिएको हो । पक्राउ परेपछि शिवाकोटीलाई स्वास्थ्य परीक्षणका लागि भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ अस्वस्थ भएपछि उनलाई बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाका तर्फबाट शिवाकोटीविरुद्ध हिजै जाहेरी दर्ता भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । आज उनलाई म्याद थपका लागि झापा जिल्ला अदालत लगिने छ । त्यस्तै पीडित बालिकाको स्वास्थ्य परीक्षणसमेत गरिएको छ ।

बिर्तामोड–५ स्थित आफ्नै घरमा घरेलु कामदारको रुपमा रहेकी १७ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गरेको आरोपमा पूर्व नगर प्रमुख शिवाकोटी सोमबार पक्राउ परे ।

बुबाको मृत्यु भएपछि ती बालिका मेचीनगरस्थित एक आफन्तको घरमा बस्दै आएकी थिइन् । बालिकाको आमाले पनि दोस्रो विवाह गरेकी भारतको आसाममा गइसकेकी छिन् ।

शिवाकोटीका चिनजान पर्ने ती आफन्त घरमा बस्दै आएकी बालिकालाई आफ्नो घरको कामसँगै पढाउने भनी शिवाकोटीले लिएर गएका थिए । कक्षा ११ मा अध्ययनरत रहेकी ती बालिका शिवाकोटीको शारीरिक शोषण सहन नसकेकी भागेर भारतको आसाम जान लागेकी थिइन् ।

काँकडभिट्टा गेटमा शङ्कास्पद रुपमा भारत जान लागेकी उनलाई माइती नेपालका प्रतिनिधिले रोकेर सोधपुछ गरेका थिए । संस्थाका एक प्रतिनिधिका अनुसार स्कुल ड्रेसमा रहेकी उनी फेरि त्यही घरमा जानुपर्छ भनेर अतालिएकी थिइन् । बालिकालाई फकाएर सोधी खोजी गर्दा पूर्व मेयर शिवाकोटीको जघन्य कर्तुत बारेमा खुलेको उनले बताए ।

पीडित बालिकाको भनाइलाई उद्धृत गर्दै उनले भने, ‘शिवाकोटीको शारीरिक तथा मानिसक तनावबाट आजित भएर नेपाल छाडेर जान लागेकी बताइन् ।’ त्यसपछि माइती नेपालको सहयोगमा पीडित बालिका हजुरआमाले इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएको र प्रहरीले शिवकोटीलाई पक्राउ गरेको हो । गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पार्टीबाट प्रतिनिधित्व गर्दै उनी बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

मङ्गलवार, मंसिर २५, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर