२०८१ पौष ७, आइतवार , ०३:१८:३९ बजे

Sajhamanch
'

‘पब्लिक सेन्टिमेन्ट बुझेरै संविधान संशोधनको प्रस्ताव गएको हो’ : गिरी

सोमवार, मंसिर २४, २०८१

झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले संविधानमा केही सुधार गर्नकै लागि कांग्रेस–एमालेबीच सत्ता गठबन्धन भएको बताएका छन् ।

नेपाली कांग्रेसले शुरु गरेको १०० दिने विशेष अभियान अन्तरगत झापामा आयोजित भातृ तथा शुभेच्छुक संघ संस्थाहरुको जिल्लास्तरीय भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै गिरीले ‘पब्लिक सेन्टिमेन्ट’ बुझेरै संविधानमा केही सुधार गर्नुपर्ने अवस्था आएको दावी गरेका हुन् ।

१०० दिने अभियान अन्तरगत झापाका लागि केन्द्रीय प्रतिनिधिसमेत रहेका गिरीले सबैको सक्रियताले मात्रै पार्टी संगठन मजबुद हुने पनि बताए । नेता गिरीले आफूले नेतृत्व गरेको संस्थालाई चलायमान बनाउन पनि भातृ तथा शुभेच्छुक संघ संस्थालाई निर्देशन गरेका थिए ।

नेपाली कांग्रेसलाई मुलुकभर शसक्त बनाउन १०० दिने अभियान सञ्चालन गरिएको धारणा राख्दै उनले भातृ तथा शुभेच्छुक संस्थालाई विधिवत रुपमा चलायमान गराउन यो अभियानले मद्दत पुग्ने बताए ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले जिल्ला मातहतका भातृ तथा शुभेच्छुक संघ संस्थाको अधिवेशन गर्ने अधिकार जिल्लालाई दिन केन्द्रसँग माग गरिएको जानकारी गराए ।

भातृ संघ संस्थाको अधिवेशन क्यालेन्डर अनुसार नै गर्नसके मात्रै संगठन चलायमान हुने बताउँदै सभापति थेवेले १०० दिने विशेष अभियान झापामा निरन्तर अघि बढेको र मंसिर भित्र वडा भेला, पालिका भेला सकेर पौषमा क्षेत्रीय भेला गरिने पनि जानकारी गराए ।

सभापति थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा दिपक तामाङले शाब्दिक स्वागत गरेका थिए भने पार्टीका जिल्ला सचिव कृष्ण हुमागाई र कार्यालय सचिव जयकुमार दाहालले संयुक्त रुपमा कार्यक्रमको सञ्चालन गरेका थिए ।