२०८१ पौष ८, सोमवार , ११:४१:४९ बजे

Sajhamanch
'

माघ ११ गतेदेखि बिर्तामोडमा औद्योगिक व्यापार महोत्सव

आइतवार, मंसिर २३, २०८१

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आयोजना गरिने भएको छ ।

नेपालका घरेलु, साना, मझौला, ठूला उद्योगहरूका अतिरिक्त विदेशी बस्तु, पहाडी जिल्लाका खनिजजन्य, कृषिजन्य वस्तुहरूको प्रचार, प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।

महोत्सव आगामी माघ ११ गतेदेखि २३ गतेसम्म आयोजना गरिने भएको छ । जसका लागि संघको आज बसेको बैठकले मूल समारोह समिति गठन गरेको छ । संघका उद्योग उपाध्यक्ष विशाल थापा संयोजक रहेको मूल समारोह समिति गठन गरिएको हो ।

त्यस्तै अनुगमन समिति संयोजकमा संघका जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई चयन भएकी छन् । मूल समारोह समितिले तत्कालै महोत्सवस्थल चयन लगायतका अन्य काम गर्ने बताइएको छ ।

महोत्सवमा व्यापारसहित नेपाल, भारत, बंगालादेश, पाकिस्तानका प्रदर्शकहरुको सहभागिता रहने बताइएको छ । त्यस्तै स्थानीय, राष्ट्रिय तथा प्रदेशका चर्चित कलाकारको दैनिक प्रस्तुति, फेशन शो, विद्यालय तथा कला केन्द्रको विविध सांस्कृतिक कार्यक्रम रहने छ ।

बालउद्यान क्षेत्रमा विभिन्न साहसिक तथा मनोरञ्जनात्मक खेलहरू रहने छन् । खानपान क्षेत्रमा भेज तथा ननभेज फुडकोर्टको स्टल राखिने छ भने मिडिया सेन्टर, कन्फरेन्स हल, फ्रि वाईफाई जोन, प्राथमिक उपचार, शौचालय, खानेपानी तथा पार्किङ, सुरक्षाको व्यवस्थापन गरिने बताइएको छ ।

सुस्ताएको अर्थतन्त्रलाई केही हदसम्म भए पनि सुढृढ र चलायमान बनाउन महोत्सवले सघाउ पुर्याउने महासंघका महासचिव कुशल खतिवडाले बताए ।

सम्बन्धित खबर