काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनले गरेको निर्णयप्रति असन्तुष्टि सामाजिक सञ्जालमा पोखेका छन् ।
राष्ट्रिय समाचार समितिका अध्यक्षसमेत रहेका अग्रज पत्रकार झाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफूसँग निर्वाचनको विषयमा कुनै सल्लाह नगरिएको बताउँदै असन्तुष्टि पोखेका हुन् ।
प्रेस युनियनका सल्लाकारसमेत रहेका झाले सल्लाह नलिने, सल्लाह नमान्ने र सल्लाह नै आवश्यक नपर्ने ठाउँमा सल्लाकार भन्दै बसिरहनुको तुक नभएको बताउँदै सल्लाहकार पद त्यागेको घोषणा पनि गरेका छन् ।
पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियनले अध्यक्षसहितको महत्वपूर्ण पदहरु एमाले निकट प्रेस चौतारीलाई बुझाएको र युनियनले पाएको पदहरुमा समेत ब्यापक असन्तुष्टि दखिएको अवस्थामा सल्लाहकारको राजनीनामाले युनियनको वास्तविकता प्रष्ट्याएको छ ।
झाले सामाजिक सञ्जालमा लेखेका छन्– “मेरा आत्मीयजनलाई जानकारी – सल्लाह नलिने, सल्लाह नमाग्ने र सल्लाह आवश्यक नै नपर्ने ठाउँमा सल्लाहकार भन्दै बसिरहनुको के तुक भयो र ? छोडियो । साथीहरूसङ्ग रहिरहन त पदै किन चाहियो ? म सधैं मेरा साथीहरूसँगै छु र रहिरहनेछु । मेरो कसैप्रति कुनै गुनासो छैन । जे छ, आफैंसँग छ ।”