२०८१ पौष ७, आइतवार , ०८:४६:१२ बजे

Sajhamanch
'

झापा गाउँपालिकाका किसानलाई ८० प्रतिशत विद्युत महशुल अनुदानमा

शुक्रवार, मंसिर २१, २०८१
  • द्रोण अधिकारी

झापा । सिमान्तकृत तथा विपन्न समुदायको उच्च् बसोबास रहेको झापा गाउँपालिकाले कृषिमार्फत समृद्धिको सपना साकार पार्न व्यवसायिक कृषिलाई जोड दिइरहेको छ ।

पालिकाले कृषिमै रहेर समृद्धिको यात्रा निरन्तर अगाडि बढाउने कृषकको संरक्षणका लागि अनुदान दिएर व्यवयायिक कृषिमा जोड दिएको हो ।

पहिलो स्थानीय तह निर्वाचन २०७४ मा जयनारायण साहाले पालिकाका बासिन्दाको जीवनस्तर उकास्न कृषिलाइ्र्र देखाएर अगाडि सारेको समृद्धिको सपना निरन्तर अगाडि बढाउँदा पालिकाले व्यवसायिक कृषिमा निकै ठूलो फड्को मारिसकेको छ । पछिल्लो समय व्यवसायिक कृषि मार्फत स्थानीयको जीवनस्तर उकास्ने सपना पूरा गर्ने दायित्व कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले पाएकी छन् ।

गाउँपालिकाले व्यवसायिक कृषिमा आकर्षण बढाउन तथा दिगो कृषि पेशा बनाउन सिञ्चाई लगायत कृषि कार्यमा प्रयोग हुने विद्युत खपतको ८० प्रतिशत लागत रकम व्यहोर्ने नीति लिएको छ ।

कृषिमा लागत घटाई किसानलाई व्यवसायिक खेतीप्रति आकर्षण बढाउन गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमार्फत किसानको ८० प्रतिशत विद्युत महशुल तिरिदिने नीति लिएको हो ।

किसानलाई खेतीपाती गर्न सजिलो पारेर आय आर्जन बढाउने उद्देश्यले गाउँपालिकाले उनीहरूको खेतबारीमै बिजुली पुर्याइरहेको गाउँपालिकाका कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले जानकारी दिइन् ।

कावा अध्यक्ष थपलियाका अनुसार किसानको कृषि कर्मप्रति खुसी राख्न गाउँपालिकाले विद्युत महसुलमा लाग्ने ८० प्रतिशत रकमसमेत चालू आर्थिक वर्ष २०८१/०८२ को विनियोजन वजेट मार्फत तिरिदिने भएको हो ।

झापा गाउँपालिकामा २०७४/०७५ को बजेट मार्फत नै तत्कालीन अध्यक्ष साहाले किसान हितको लागि शुरू गरेको बिजुली बिस्तार कार्यक्रमले अहिलेसम्म निरन्तरता पाएको हो । झापा गाउँपालिकाका ७ वडामा हालसम्म ५ हजारवटा बिजुलीका पोल किसानका खेतबारीमा तारसहित जोडिएको छ भने ८०० पोल चालू आर्थिक वर्षमा जोडिन लागेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले जानकारी दिए ।

पालिकाले किसान हितमा विद्युतमा लाग्ने महसुल मात्रै होइन, सिञ्चाइ मोटर, स्प्रे ट्याङ्कीसमेत साझेदारी कार्यक्रम अन्तरगत उपलब्ध गराउँदै आएको जनाइएको छ । ५० युनिटसम्म सबै नागरिकको विद्युत महशुलसमेत पालिकाले नै तिर्दै आएको प्रमुख प्रशासकीय अधिकृत थपलियाको भनाई छ ।

मकै, धान, केरा र तरकारी खेती गर्ने किसानलाई पालिकाले सिञ्चाइको लागि जडान गरिएको बिजुलीको लागि ६० प्रतिशत महशुल तिरिदिँदै आएकोमा चालू आर्थिक वर्षदेखि ८० प्रतिशत तिरिदिन थालेको हो ।

विद्युतमा सहुलियत दिइरहेको झापा गाउँपालिकालाई प्रधानमन्त्री कृषि परियोजना मार्फत मकै पकेटजोन घोषणा गरिए पछि किसानको खुसीको लागि उनीहरूलाई चाहिने आवश्यक मल, बिउ, औजार र प्राविधिक सहयोगलाई प्राथमिकता दिन थालिएको पाइएको छ ।

कृषि शाखाका अनुसार गाउँपालिकाले मकै पकेटजोन घोषणा गरेपछि मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, स्प्रे ट्याङ्की, मकै सुकाउने झुल र सिञ्चाइको लागि मोटर अनुदान सहयोगमा उपलव्ध गराउँदै आएको छ । पालिका भित्र आवद्ध ९२ वटा कृषि समूहलाई आवश्यक तालिम र अनुदानको ब्यवस्थासमेत पालिकाले गर्दै आएको छ ।

सम्बन्धित खबर