२०८१ माघ ८, मङ्गलवार , ०३:३०:४८ बजे

Sajhamanch
'

झापाका १५ जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई नगदसहित सम्मान

शुक्रवार, मंसिर २१, २०८१

झापा । २१औं स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा झापाका १५ जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरिएको छ ।

कोशी प्रदेश सरकारको ‘एक पालिका, एक महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका सम्मान कार्यक्रम’ अन्तरगत झापाका १५ वटा पालिकाका १५ जना स्वास्थ्य स्वयमसेविकाहरुलाई जनही १२ रुपैयाँसहित सम्मान–पत्र प्रदान गरिएको हो ।

सम्मानित हुने स्वयमसेविकाहरुमा मञ्जु नेपाल मेचीनगर, रामला लिम्बू बुद्धशान्ति, लता खतिवडा अर्जुनधारा, कृष्णकुमारी कटुवाल कनकाई, तुलसादेवी घिमिरे शिवसताक्षी, बिमलादेवी भट्टराई कमल, रिता गौतम दंगाल दमक, गीता कार्की थापा गौरादह, गायत्री बस्नेत गौरीगञ्ज, सकुन्तला कटुवाल झापा, मिनाकुमारी राजवंशी बाह्रदशी, विष्णुकला चौधरी बिर्तामोड, शारदा उप्रेती हल्दिबारी, सविता पोखरेल भद्रपुर र मिरा घिमिरे नेपाल कचनकवल रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख चूडामणि लुइँटेल, महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका कोशी प्रदेश उपाध्यक्ष निर्मला सुवेदी नेपालले उनीहरुलाई सम्मान पत्र प्रदान गरेका हुन् । झापाका १५ वटा पालिकामा हाल ६०५ जना सामुदायिक स्वास्थ्य स्वयमसेविकाले सेवा प्रदान गर्दै आएका छन् ।

कार्यक्रममा स्वागतसँगै औचित्य माथि प्रकाश पार्दै स्वास्थ्य कार्यालय झापाका पब्लिक हेल्थ नर्स नितु साहाले झापा एकजना महिला स्वास्थ्य स्वयमसेविकाले औषतमा ४० जनालाई सेवा दिने गरेको जानकारी दिइन् । कार्यसम्पादनको आधारमा उनीहरुको औषत प्रगति ९६ प्रतिशत रहेको साहाले बताइन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले स्वास्थ्य सेवाको क्षेत्रमा आमूल परिवर्तन ल्याउन महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको भूमिका महत्वपूर्ण भएको बताए । आफ्नो जीवनको उर्वर समय समुदायका लागि समर्पित गर्ने स्वास्थ्य स्वयमसेविकाका विषयमा सरकारले विशेष योजना ल्याउनुपर्नेमा उनले जोड दिएका थिए ।

कार्यक्रममा मन्तव्यका क्रममा स्वास्थ्य स्वयमसेविका कोशी प्रदेश उपाध्यक्ष निर्मला सुवेदीले आफूहरुलाई सरकारले स्वास्थ्य क्षेत्रको मेरुदण्ड रुपमा व्याख्या गरे पनि सेवा सुविधा दिने विषयमा ध्यान नदिएको गुनासो गरिन् ।

त्यस्तै, महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका झापाका अध्यक्ष सीता आचार्यले सेवा सुविधा दिने सन्दर्भमा झापाका पालिकाहरुमा एकरुपता नभएको जानकारी गराइन् ।

वि. सं. २०४५ सालदेखि काम गर्दै आएकी महिला स्वास्थ्य स्वयमसेविका रिता गौतम दंगालले स्वास्थ्य स्वयमसेविकाले स्वास्थ्य कै क्षेत्रमा काम गर्ने गरेको बताउँदै सरकारले उनीहरुको परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिनु आवश्यकता औंल्याइन् ।

स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख चूणामणि लुइँटेलले महिला स्वास्थ्य स्वयमसेविकाको समस्या समाधानका लागि उपल्लो निकायमा पहल गर्ने आश्वासन दिए । उनले जिल्लामा रहेका सबै स्वास्थ्य स्वयमसेविकाको निःशुल्क बीमासमेत गरिएको जाकारी दिए ।

कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले गरेका थिए ।

सम्बन्धित खबर