बिर्तामोड । झापाको बिर्तामोड(- बिर्ताबजारबाट लागुऔषध बेचेको आरोपमा एकजना क्लिनिक सञ्चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मुटु पोलिक्लिनिक एन्ड हाडजोर्नी नशा सेन्टरका सञ्चालक राजेन्द्र शाह रहेका छन् ।
उनले डाक्टरको प्रेस्किप्सनबिना दिन नहुने ट्रामाडोल, प्रोक्सिवन, प्रेगावालिन लगायतका नशा दिने औषधि बिक्री गरेको पाइएपछि जनप्रतिनिधि तथा स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् ।
इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी प्रकाश विष्टले औषधिसहित एकजना पक्राउ परेको जानकारी दिए ।
विभिन्न समयमा अनाधिकृत रुपमा औषधि बिक्री गरेको जानकारी आएपछि पटकपटक सम्झाउँदा पनि नसुध्रिएपछि प्रहरीलाई जिम्मा लगाइएको बिर्तामोड ३ का वडा सदस्य हरि बाँस्कोटाले जानकारी दिए ।
शाहले फार्मेसीको पछाडि सिँढीमुनि राखेर विभिन्न समूहलाई बिक्री गर्ने गरेको बताइएको छ ।