बिर्तामोड । झापासहित देशका विभिन्न स्थानमा पछिल्लो समय विष्फोटक पदार्थ राखेर आतङ्क मच्चाउने अमृत सापकोटा ‘गौरव’ लाई प्रहरीले पक्राउ गरेको छ ।
गोरखाको छेकम्पार घर भएका ३६ वर्षीय सापकोटा अहिले जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन् ।
२०८१ भदौ २८ मा झापा बिर्तामोडको गिरीबन्धु टि–स्टेट अगाडि विस्फोटक पदार्थ भेटियो । विस्फोटक पदार्थ राखेको ठाउँमा नेकपा (माओवादी) पूर्व केन्द्रीय कमान्डको लेटरप्याडमा ‘गिरबिन्धु टि–स्टेट कब्जा किन ?’ भन्ने पर्चा छाडिएको थियो ।
सो घटनामा संलग्न मिक्लाजुङ गाउँपालिका–९ मधुमल्ला घर भएका राजकुमार माझी र कानेपोखरी गाउँपालिका–६ शिवालय घर भएका धीरज माझीलाई झापा प्रहरीले पक्राउ गरेको छ ।
गिरिबन्धु टि स्टेटमा विस्फोटक पदार्थ राख्ने मुख्य योजनाकार गौरव भएको खुलेको छ । पर्सा जिल्लाको मुद्दा टुङ्गो लागेपछि उनलाई अनुसन्धानका लागि झापा पनि पठाइने नेपाल प्रहरीका एकजना उच्च अधिकृतले झापा टुडेलाई बताए । उनले भने, ‘गिरीबन्धुमा उसकै योजनामा विस्फोटक पदार्थ राखेको देखिन्छ ।’
उनले सिन्धुलीको मतानबासस्थित नेपाल टेलिकमको टावरमा पनि विस्फोट गराएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
भूमिगत रूपमा नेकपा (माओवादी) नामको पार्टी गठन गरेर अमृतले विस्फोटक पदार्थ राखेर चन्दा असुल गर्ने धन्दा चलाएको आरोप छ । उनले आफूलाई नेकपा (माओवादी)को महासचिव बताउने गर्छन् ।
२०८१ भदौ ९ मा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको धनगढीस्थित घरअगाडि पनि विस्फोटक पदार्थ राख्ने कामको नेतृत्व अमृतले नै गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
अमृतले माओवादीबाट छुट्टिएर अलग समूह बनाउँदै भूमिगत रूपमा काम गर्दै आएका थिए । उनको साथबाट केही राजनीतिक दस्ताबेज र भूमिगत रूपमा सशस्त्र सङ्घर्ष गर्ने तयारी गरेको कागजात भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका एकजना अधिकृतले बताए ।