कमल । झापाको कमल गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण र सामुदायिक विद्यालयहरुमा अध्ययनरत अपाङ्गता तथा कुष्ठ रोग प्रभावित बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार भन्ने नाराका साथ अपाङ्गता भएका व्याक्तिहरुको ३३औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा सहायक सामग्री र शैक्षिक सामग्री वितरण गरिएको हो ।
कमल अपाङ्गता समितिको आयोजना तथा कमल गाउँपालिकाको समन्वयमा सम्पन्न कार्यक्रममा १४ जनालाई ह्विल चियर, ४ जनालाई सेतो छडी र २९ जनालाई शैक्षिक सामग्री प्रदान गरिएको कमल अपाङ्गता समितिका सचिव लोकबहादुर खड्काले जानकारी दिए ।
कमल अपाङ्गता समितिका अध्यक्ष पिताम्बर खड्काको अध्यक्षतामा भएको कार्यक्रमममा कमल गाउँपालिका ५ नम्वर वडाध्यक्ष लालबहादुर विष्ट, ६ नम्वर वडाध्यक्ष नरेन्द्र भट्टराई र कार्यपालिका सदस्य चन्द्रकला सुब्बाले कमल गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि विभिन्न कार्यक्रम गर्दै आएको र आगामी दिनमा समेत उनीहरुका लागि रचनात्मक कार्यक्रम गरिनै रहने बताएका थिए ।