२०८१ मंसिर १९, बुधवार , १०:२९:४६ बजे

Sajhamanch
'

बिर्तामोड ७ झलमल्ल पारिँदै

बुधवार, मंसिर १९, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा ‘एक घर एक बत्ती अभियान’ सुरु गरिएको छ ।

जंगली हात्ती प्रभावित सो वडामा स्थानीयलाई रातको समयमा हिँडडुल गर्न सहज होस् भन्ने उद्देश्यले ‘एक घर एक बत्ती अभियान’ सुरु गरिएको जनाइएको छ ।

सो वडामा २४ वटा टोल छन् । तीमध्ये हालसम्म हात्तीबाट बढी प्रभावित रहेका बाह्रघरे, झोलुङ्गे, खालबाडी, सिमसार, पाथीभरा, श्रीजंघा, फक्तालुङ लगायतका टोलमा १५० भन्दा बढी सडक बत्ती जडान गरिएको वडाअध्यक्ष कृष्णप्रसाद खरेलले जानकारी दिए ।

सो अभियानलाई प्राथमिकताको साथ अघि बढाइने बताउँदै वडाध्यक्ष खरेलले अहिले बत्ती जडान कार्य धमाधम भइरहेको र सबै ठाउँमा आवश्यकता अनुसार जडान गरिने जानकारी दिए ।

नगरपालिकाको सहयोगमा वडा कार्यालयले बत्ती जडान गरेको हो । स्थानीयबासीको घरबाटै लाइन टाँगेर बाटोमा बत्ती जडान गरिने हुँदा त्यसको महशुल व्यक्तिले नै तिर्नु पर्नेछ । यसो गर्दा व्यवस्थापन कार्यमा सहज हुने वडाअध्यक्ष खरेलको भनाई छ । जडान गरिएको बत्ती बिग्रिएमा वडाले नै मर्मत तथा फेरबदल गर्ने बताइएको छ ।

हाल टोल टोलमा पुराना जोडिएका बत्तीको मर्मत र नयाँ थप गर्ने कार्य भइरहेको छ । अहिले जडान गरिएका बत्तीहरुको खर्च प्रति एलइडी बल्ब १ हजार ५०० देखि ३ हजार रुपैयाँसम्म रहेको वडाअध्यक्ष खरेलले जानकारी दिए ।

सम्बन्धित खबर