झापा । झापाको कनकाई र अर्जुनधारामा गौहत्याको आरोपमा पक्राउ परेका ६ जनामाथि बिर्तामोड प्रहरीले पशुपंछीसम्बन्धी ऐनअनुसार कारबाही अघि बढाएको छ ।
मंसिर ११ गते कनकाई ३ टप्पुमा गाई काटेको आरोपमा पाँच जना पक्राउ परेका थिए । पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका वडा नं. ४ बस्ने ४६ वर्षीय बुधन आलम,उनकी श्रीमती ३९ वर्षीया कुरेसा खातुन , भारत किसनगञ्ज ठेगाना भई हाल कनकाई ३ मा बस्ने २० वर्षीय दिलवर हुसेन , उनकी श्रीमती १९ वर्षीया महिदा खातुन र कनकाई –४ बस्ने २१ वर्षीय मोहम्मद मुन्ना आलम रहेका छन् ।
त्यस्तै कनकाईमा गाई काटेको पर्सिपल्ट मंसिर १३ गते अर्जुनधारामा पनि गौहत्या भएको थियो । त्यस घटनामा संलग्न एक जना पक्राउ परेका हुन् भने अर्का फरार छन् । पक्राउ पर्नेमा अर्जुनधारा– ४ का अन्दाजी ५० वर्षीय राम तामाङ रहेका छन् ।
अन्दाजी ५५ वर्षीय सन्तबहादुर मोक्तान तामाङ फरार रहेको र उनको खोजी भइरहेको डीएसपी इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।
उनले पक्राउ परेका ६ जनामाथि झापा जिल्ला अदालतबाट पशुपंछीसम्बन्धी ऐन (गाई गोरु मार्न नहुने) कसुरमा म्याद थप गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।