२०८१ मंसिर १७, सोमवार , ०३:३०:०३ बजे

Sajhamanch
'

हल्दिबारी र कमलमा सवारी दुर्घटना : घाइते दुई जनाको उपचारको क्रममा मृत्यु

सोमवार, मंसिर १७, २०८१

झापा । झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । साइकलबाट लडेर र मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार मङ्सिर ११ गते हल्दिबारी गाउँपालिका-५ का ४४ वर्षीय नवीन राई आफैले चलाएको साइकलबाट लडेर घाइते भएका थिए । मादक पदार्थ सेवन गरी साइकलबाट लड्दा घाइते भएका उनलाई मेची प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको र उनको सोमबार बिहान पौन ११ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै मङ्सिर ४ गते पूर्व-पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका-५ रतुवा पुलमा मे १० प १४४१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पुलको बायाँ भागमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक कमल-५ का ३० वर्षीय रुपेश सुनुवार र सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २८ वर्षीय नितेश राई घाइते भएका थिए ।

घाइते दुवैलाई सोही दिन निम्स अस्पताल दमकमा सामान्य उपचार पश्चात् थप उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाइएको थियो । अस्पतालबाट मङ्सिर १६ गते दुवै जना डिस्चार्ज भई घर आएकोमा घाइते नितेश भोलिपल्ट पुनः बिरामी परेका थिए ।

उनलाई उपचारका लागि विराटनगर लगिएको र उपचारको क्रममा सोमबार बिहान पौने १० बजे मृत्यु भएको प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

सोमवार, मंसिर १७, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर