२०८१ मंसिर १६, आइतवार , ०९:३९:२० बजे

Sajhamanch
'

बलाचतुदर्शीका दिन सताक्षीधाममा भक्तजनको संख्या बढ्यो

आइतवार, मंसिर १६, २०८१
  • सरोज भट्टराई

शिवसताक्षी । पूर्वको प्रशिद्ध तीर्थस्थल सताक्षीधाममा बालाचदुदर्शीका दिन शतबीज छर्ने भक्तजनको संख्या विगत वर्षहरुभन्दा बढेको छ । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुदर्शीको बिहानै सताक्षी नदीमा दीप सेलाएर पितृको सदगतिको कामना गर्दै शतबीज छरेका हुन् ।

शतबीजमा धान, जौ, गहुँ र कागुनु जस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि मौसमी फल र विभिन्न किसिमका फूल समावेश गरिएको हुन्छ ।
मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा शतबीज छरेमा पितृको उद्धार हुने तथा जन्ममृत्युको चक्रबाट मुक्त हुने धार्मिक मान्यता छ ।

सताक्षीधाममा यो वर्ष प्रमुख आकर्षणको रुपमा नव निर्मित ५१ फिटको सवा करोड रुद्राक्षजडित पार्थिव शिवलिङ्ग रहेकोले पनि भक्तजनहरुको संख्या बढेको धाम समितिको अनुमान छ ।

बिहानदेखि नै उक्त शिवलिङ्गको दर्शन गर्ने भक्तजनहरुको भीड देखिएको थियो । त्यहाँ रहेको झरना, विरेनून पानी, दिगम्वेश्वर मन्दिर, सताक्षी देवीको मन्दिर, नवनिर्मित ८७ धारा लगायतका स्थानहरुमा भक्तजनहरुले पूजाअर्चना तथा अवलोकन गरेका छन् ।

बालाचतुदर्शीमा सताक्षीधाम र गोलोक क्षेत्रमा झापा, मोरङ, सुनसरी, इलाम, ताप्लेजुङ, पाँचथर धनकुटा, तेह्रथुम लगायतका जिल्लाहरुबाट आएका भक्तजनहरुले दिपदान लगायत दर्शन गरेको आचार्य नन्दकिशोर भारद्वजले जानकारी दिए ।

यसैबीच सताक्षीधाममा गोरक्षा महोत्सव सुरु भएको छ । सोमबार ५१ फुटको रुद्राक्षबाट जडित पार्थिव शिवलिङ्गको चताराधामका पिठाधिपति बालसन्त देवचार्यले अनावरण गर्ने कार्यक्रम रहेको शताक्षी गोलोक गोवर्धन गौशालाले जनाएको छ । उक्त दिन शिवसताक्षी नगरपालिकाले स्थानीय विदा दिएको छ । गोरक्षा महोत्सव मंसिर २४ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

सम्बन्धित खबर