बिर्तामोड। झापा प्रहरीले झापाका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कमलका ३८ वर्षीय सन्देश बस्नेत, गौरीगञ्ज-१ का २१ वर्षीय उत्तम राजवंशी, १९ वर्षीय गोविन्द राजवंशी र १८ वर्षीय किरण कोच रहेका छन् ।
हिजो दिउँसो ३ बजे बस्नेतले आफ्नै घरमा प्रतिबन्धित औषधि लुकाएर राखेको अवस्थामा इलाका प्रहरी कार्यालय दमक र अस्थाई प्रहरी पोस्ट बाह्रघरेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
उनको घरबाट ट्रामाडोल ४९३ पत्ता, स्पासेन ५०३ पत्ता, डेकोलिक ४२ पत्ता बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बस्नेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।
यसैबीच, हिजो साँझ ७ः५० बजे गौरीगञ्ज १ मा हिँडिरहेका राजवंशीद्वय र कोचमाथि जाँच गर्दा उत्तमले लुकाएर हाफपाइन्टको गोजीमा राखेको ब्राउनसुगर ९०० मिलिग्राम र निट्राक्रस ८० ट्याब्लेट भेटिएको थियो ।
उनीहरु तीनजनालाई लागुऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।