२०८१ मंसिर ११, मङ्गलवार , ०८:०२:४६ बजे

Sajhamanch
'

हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि

मङ्गलवार, मंसिर ११, २०८१

काठमाडौं । हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि भएका छन् । कतिपय स्थानमा असावधानीका कारण आगलागी हुँदा जनधनको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणमा उल्लेख छ ।

प्राधिकरणले उपलब्ध गराएको मंसिर १ देखि १० गतेसम्मको विवरणमा सबैभन्दा बढी आगलागीका घटना भएको देखिएको हो ।

प्राधिकरणका अनुसार मंसिर १ गते ११ वटा विपद्का घटना भएका थिए । त्यसमध्ये आठ वटा आगलागीका मात्रै घटना थिए भने जनावरको आक्रमणबाट एकजना र लेक लागेर एकजनाको मृत्यु भएको थियो । मंसिर २ गते विपद्का १२ वटा घटनालाई प्राधिकरणले समावेश गरेको छ । त्यसदिन पनि विभिन्न आठ स्थानमा आगलागी भएका थिए ।

झापाको दमकमा हात्तीको आक्रमणमा एकजनाको मृत्यु भएको थियो ।मुस्ताङमा लेक लागेर एकजना र सुनसरीमा अर्नाले हानेर एकजना घाइते भएका थिए । मंसिर ३ गते दुईवटा घटनामात्रै भएका प्राधिकरणले जनाएको छ ।मोरङमा आगलागी र बैतडीको पाटनमा सुक्खा पहिरो खसेर महाकाली राजमार्गमा अवरुद्ध भएको थियो । मंसिर ४ गते देशभर १६ मध्ये १३ वटा आगलागीका विपद्जन्य घटना भएका थिए ।मंसिर ५ गते देशभर १२ वटा आगलागीका घटना भएको पाइएको छ । आगलागीमा ठूलोमात्रामा भौतिक क्षति भए पनि मानवीय क्षति नभएको प्राधिकरणको विवरणमा समावेश छ ।

त्यसदिन आगलागीमा परी एकजना घाइते भएका छन् । मंसिर ६ गते १० वटा घटना घटेकामा नौवटा आगलागीका मात्रै थिए । त्यसदिन आगलागी र जनावर आक्रमणमा परी दुईजना घाइते भएका उल्लेख छ ।

मंसिर ७ गते देशभरका १४ स्थानमा आगलागी भएको थियो । आगलागीका कारण भौतिक सामग्री जलेर नष्ट भई दुईजना घाइते भएका प्राधिकरणले जनाएको छ ।

मंसिर ८ गते देशभर १० वटा विपद्जन्य घटनामध्ये नौवटा आगलागीका थिए । लेक लागेर एकजना र आगलागीबाट एकजना घाइते भएका थिए ।मंसिर ९ गते देशभर विपद्का १५ घटनामध्ये १४ वटा आगलागीका घटना भएका थिए । सोही दिन नवलपरासी पूर्वमा गैंडाको आक्रमणमा एकजनाको मृत्यु भएको थियो । आगलागीमा परेर दुईजना घाइते भएका थिए ।मंसिर १० गते विपद्जन्य १४ वटा घटना देशभर घटेका छन् । त्यसमा १३ वटा आगलागीका हुन् । यसरी पछिल्ला १० दिनको विवरणमा सबैभन्दा बढी आगलागीका घटना छन् ।आगलागीबाट जोगिन पूर्वसावधानी अपनाउन प्राधिकरणले सबैलाई आग्रह गरेको छ ।

प्राधिकरणले घर नजिक कुवा, इनार र पोखरीको व्यवस्था गरी पानीको जगेर्ना गर्न, समुदायस्तरमा आगलागीको समयमा तत्काल प्रयोगका लागि डोरी, बोरा, कपडा, बाल्टिन, कुटो, कोदालो आदिको व्यवस्था गर्न, समयमा सम्बन्धित निकायमा सूचना गर्न आग्रह गरेको छ ।क्षति कम गर्न परिवार तथा समुदायमा पूर्वतयारी योजना तयार पारी कार्यान्वयन गर्न अनुरोध गरेको छ ।

सम्बन्धित खबर