२०८१ पौष १०, बुधवार , १०:५९:३० बजे

Sajhamanch
'

गुमनाम चन्द्रगढको उत्खनन कहिले ? पहिचान नै गुम्ने खतरा !

आइतवार, मंसिर ९, २०८१
  • द्रोण अधिकारी

भद्रपुर । झापाको सदरमुकाम चन्द्रगढीस्थित ऐतिहासिक स्थल चन्द्रगढको पुरातात्विक महत्वको बारेमा अध्ययन अनुसन्धान हुन नसक्दा पहिचान नै गुम्ने अवस्था सिर्जना हुँदैछ । २ हजार वर्ष पुरानो मौर्यकालिन सभ्यतासँग गाँसिएको मानिएको सो क्षेत्रको प्राचीनता बारे अध्ययन गर्न सरकारले चासो नदिँदा चन्द्रगढको पहिचान छायाँमा पर्दै गएको हो ।

भद्रपुर–बिर्तामोड रोड देउनिया पूल उत्तरमा रहेको सो क्षेत्रले बिर्तामोड र भद्रपुर नगरपालिकाको सीमासँग जोडिएर आफ्नो अस्तित्व खोजिरहेको भान हुन्छ । सो स्थलको उत्खनन् गर्न तीन तहकै सरकारले चासो नदिँदा आन्तरिक तथा बाह्य पर्यटकको नजरमा समेत पर्न सकेको छैन । पछिल्लो समय रेखदेखको अभावका कारण ऐतिहासिक पहिचान बोकेको चन्द्रगढ झाडीले छोपिएको अवस्थामा छ ।

चन्द्रगढको नाम सुनेर कोही सो स्थानमा पुगे पनि पहिचन पाउन नसक्ने अवस्था भएकै कारण आन्तरिक पर्यटकको रोजाइमा पर्न नसकिरहेको हो । उत्खनन् र उचित संरक्षणको पखाईमा रहेको चन्द्रगढमा नजिकको सरकार मानिएको भद्रपुर नगरपालिका प्रशासनले समेत चासो नदिएको स्थानीयको गुनासो छ । भद्रपुर नगरपालिका ९ र १० वडा नम्बरमा पर्ने देउनिया खोलाको छेउमा अवस्थित चन्द्रगढलाई जोगाइराख्न चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले सुरू गरेको भनिएको पहल पनि रकम अभावका कारण प्रभावकारी बन्न नसकेको बताइन्छ ।

सो स्थलको संरक्षणका लागि भद्रपुर नगरपालिकालाई लिखित र मौखिक रूपमा आग्रह गरेर वन समितिले अवधारणा पत्र बनाएर अघि बढाएको वर्षौं भएको छ । सोही अवधारणा पत्रका अनुसार भद्रपुर नगरपालिकामा गुरूयोजना बनाई काम थालिएको भनिए पनि केही टहरा बनाउने कामभन्दा अन्य प्रगति हुन सकेको छैन । निर्माण भएका टहरा पनि झार जंगलले पुरिएर हराउने अवस्थामा पुगेको स्थानीय बताउँछन् ।

सो स्थान मौर्यकालिन इतिहाससँग जोडिएको अग्रजहरू बताउँछन् । प्रारम्भिक अध्ययन अनुसार विभिन्न १६ वटा थुम, २ वटा पोखरी र बीचबीचमा अग्लो माटोको बाटोले घेरिएको गोलो आकारको स्थल झापाकै किचकबध धार्मिक स्थल भन्दा पुरानो रहेको विज्ञहरूको दावी थियो । तत्कालिन चन्द्रगढी गाविस २ मा पर्ने ६२ बिगाहा जमीनमा श्री ३ चन्द्र शमशेर आएर सैनिक किल्ला कायम गरी भौतिक रूपमा गढ निर्माण गरी सानो भवन, सिसाको इनारसमेत निर्माण गरिएको अनुमान गरिएको छ ।

हाल उक्त इनार भग्नावशेषको रूपमा पाइन्छ । सो क्षेत्र वरपर वन फडानी गरी आदिवासी समुदायलाई चन्द्रशम्शेरले नै मानव बस्तीका रूपमा बसाएको स्थानीयको बुझाई छ । पूर्वी दक्षिणी झापाको पहिलो मानव बस्ती पनि यही हुनसक्ने आसपासका बासिन्दाको भनाई छ । सो स्थानको उत्खनन् नगरी यहाँको प्राचीनता बारे भन्न नसकिने अग्रजहरू बताउँछन् ।

सो स्थानमा स्थानीयको पहलमा लक्ष्मी नारायण मन्दिरको निर्माण गरिएको छ । सो क्षेत्रलाई धार्मिक तथा ऐतिहासक पर्यटकीय स्थलको रूपमा विकास गराउन स्थानीय लागिपरेका भए पनि आर्थिक अभावमा पर्यटकीय क्षेत्र बन्न सकेको छैन । बिहान बेलुका जंगली हात्ती गाउँ छिर्नु अगाडि जम्मा भएर बस्ने ठाउँका रूपमा समेत परिचित हुँदै गएको चन्द्रगढ अहिले वनमाराले ढाकिएको अवस्थामा छ ।

चन्द्रगढको महत्वको बारेमा चन्द्रगढी र भद्रपुरबासीलाई नै थाहा नभएको स्थानीय लोकबहादुर कुँवर बताउँछन् । चन्द्रगढको नामबाटै साविक चन्द्रगढी गाउँपञ्चायत अनि गाविस भएको इतिहास साक्षी छ, कुँवर स्मरण गर्छन् । तर अहिले चन्द्रगढी गाविस भद्रपुर नगरमा समायोजन भएपछि चन्द्रगढको अस्तित्व माथि पनि बिस्तारै ग्रहण लाग्न थालेको उनको अनुभव छ ।

साविक चन्द्रगढी गाविसलाई भद्रपुर नगरमा विलय गराए पछि अहिले सो इतिहास बारे स्थानीय बासिन्दा अनविज्ञ रहने अवस्था आउन थालेको छ । चन्द्रगढी सामुदायिक वन क्षेत्र नजिकै रहेको चन्द्रगढको किल्ला झारजंगलले छोपिन थालेपछि वन समितिले सफाइको प्रयास गरिरहेको तर पूर्णरूपमा सफलता पाउन नसकेको बताइन्छ ।

विगतमा चन्द्रगढ किल्लामा कोही भित्र पस्न सक्दैन थियो तर वन समितिकै पहलमा सरसफाई गर्ने अभियान थालेपछि केही हदसम्म पस्न सकिने अवस्था आएको छ । तर, किल्ला र गढ क्षेत्रको पुरानो पहिचानलाई दृष्यात्मक स्वरूपमा हेर्न सक्ने अवस्था भने बन्न सकेको छैन । करिब १० विगहा क्षेत्रफल ओगोटिएको सो क्षेत्रलाई सरसफाई गर्दा वन समितिले विगतमा एक पटकमा ३ लाख २७ हजार खर्च गरेको थियो । तर अहिले पनि सो क्षेत्रको झाडीले ढाकिएको स्वरूपमा परिवर्तन ल्याउन नसकिएको वन समितिका पदाधिकारीहरु बताउँछन् ।

चन्द्रगढ पुरानो किल्लाको रूपमा देखिएकाले यसलाई एकपटक उत्खन्न गरेमात्र ऐतिहासिक वा धार्मिकस्थल भनी पुष्टि हने जानकारहरूको भनाई छ । स्थानीय सरकारले उत्खनन् गर्न आर्थिक सामाथ्र्यले नभ्याउने जनाउ दिन्छ । एउटा सानो टुक्राको उत्खन्न गर्दा अहिले १५ देखि १६ लाख रुपैयाँसम्म खर्च लाग्ने जनाएर स्थानीय सरकारले पहल नै गर्न सकेको छैन ।

नेपालमा रहेको प्रविधिले मात्र उत्खनन् संम्भव नहुने हुँदा पटक–पटक विदेशमा लगेर परीक्षण गर्दा दुई चार करोड लाग्नसक्ने भएकोले रकम अभावका कारण चन्द्रगढ उत्खन्नको पखाइमा रहेको अवस्था छ । अहिलेसम्मको अध्ययन र पुुरातत्व विभागको अवलोकन भ्रमणले चन्द्रगढ २ हजार वर्ष पुरानो किल्ला हो । जुन मौर्यकालीन समयसँग जोडिएको हुनसक्छ भन्ने अनुमान छ । तर पनि जंगल र पहाड नजिकै बनाइएको किल्ला कसको हो ? भनेर प्रमाणित भएको छैन ।

धार्मिक तथा ऐतिहासिक स्थल किचकबधको उत्खन्नको बेला पुरातत्व विभागको टोली यहाँ आएको थियो । यसको पहिचानका लागि सो स्थानको संरक्षण गर्दै आएको चन्द्रगढी सामुदायिक वन र भद्रपुर नगर सरकारले पहल गर्नसके चन्द्रगढको प्राचीन इतिहासको खोजी हुन सक्ने स्थानीयको भनाई छ ।

झापामा अर्जुनधारा, किच्चकबध, सताक्षीधाम, विराटपोखरी, समयगढजस्ता ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेका धार्मिक स्थलहरू रहेका छन् । केही स्थानमा पुरातत्व विभागले उत्खन्न गरी धार्मिक तथा ऐतिहासिक स्थल भनी प्रमाणित गरिसकेको छ । त्यस्तै इतिहास र पहिचान बोकेको चन्द्रगढ आसपासका बासिन्दाको गाई चरण र हिउँदमा वनभोज खाने ठाउँका रूपमा रहन बाध्य छ ।

दक्षिणी झापामा पहिलोपटक बस्ती बसाइएको ठाउँको परिचयसमेत पाएको चन्द्रगढ श्री ३ चन्द्र शम्शेरको नामसित जोडिएर पहिचान बनाएको ठाउँ भए पनि पछिल्लो समय गुमनाम बन्दै जाँदा ऐतिहासिक पहिचानसमेत हराउने चिन्ता आसपासका बासिन्दामा पर्न थालेको छ । पछिल्ला वर्षहरूमा चन्द्रगढको जमीन समेत मिचिन थालेको अवस्था छ ।

सम्बन्धित खबर