२०८१ पौष ८, सोमवार , ०१:५४:५८ बजे

Sajhamanch
'

‘परालको आगो’मा गौंथलीको भूमिकामा देखिँदै सुहाना थापा

शनिवार, मंसिर ८, २०८१

काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने सोही नामको फिल्मको शीर्ष अभिनेत्रीमा सुहाना थापा अनुबन्धित भएकी छन् ।

निर्माता कम्पनी हरिओम सिने मेकर्सको तर्फबाट सुशिल पोखरेल र थापाबीच लिखित सहमति भएको छ । उनले यसको जानकारी सामाजिक संजालबाट पनि दिएका छन् ।मैनाली कथा पुरस्कार ट्रस्टले केही दिनअघि ‘मर्म नबिग्रने’ सर्तमा फिल्म निर्माणको अनुमति दिएको थियो । ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ ।

फिल्ममा सुहानाले कथाको प्रमुख महिला पात्र गौंथली पात्रमा अभिनय गर्दैछिन् । ‘अमर कृतिमा काम गर्न पाउनु मेरो लागि सौभाग्य हो । त्यहीकारण मैले घरबाहिरको फिल्म पहिलोपटक साइन गरें’, थापाले भनिन् ।मुख्य पुरुष पात्र चामेको भूमिका तय हुन बाँकी छ । फिल्मलाई ‘बुलाकी’ फेम्ड लक्ष्मण सुनारले निर्देशन गर्नेछन् । प्रदर्शन २०८२ सालको दशैंमा तय गरिएको छ । यसअघि यो नाममा प्रताप सुब्बाले पनि फिल्म बनाइसकेका छन् । ‘परालको आगो’ कथामाथि दोस्रो पटक एडप्टेसन हुन लागेको हो ।निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले फिल्ममा प्रस्तुत गर्न लागेको बताए । कथा ‘परालको आगो’मा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ ।निर्माता पोखरेलले यसअघि फिल्महरु ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ निर्माण गरिसकेका छन् ।