धरान । सुनसरीको इटहरी उपमहानगरपालिका–६ मा संचालनमा रहेको गजुरमुखी होटलबाट ६ जना जुवाडे पक्राउ परेका छन् ।
गएराति होटलको तीन तलामाथि तासजुवा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरी परिचालन गरि उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
पक्राउ पर्नेमा होटल संचालक नविन पुरी, इटहरीका ४५ वर्षीय जीवन कार्की, इटहरी–१७का ५२ वर्षीय दुर्गा कार्की, बराहक्षेत्र नगरपालिका–१ का ३० वर्षीय सुबास राइ, बराहक्षेत्र–८ का खडग बहादुर बिस्ट र रामधुनी नगरपालिका–५ का ४६ वर्षीय गौरी शंकर रहेको डिएसपी भण्डारीले बताए ।
जुवाडेको साथबाट २ लाख २८ हजार ५०० नगद र ८ प्याकेट तास बरामद गरिएको छ । पक्राउ परेका जीवन कार्की र खडगबहादुर बिष्ट पेसेवर जुवाडे रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान थालिएको डिएसपी भण्डारीले बताए ।