२०८१ पौष ११, बिहिवार , ०२:२३:२० बजे

Sajhamanch
'

संजिवनी साकोसको भवन शिलान्यास, ६ महिनामा निर्माण सम्पन्न गरिने

बिहिवार, मंसिर ६, २०८१

बिर्तामोड । यहाँस्थित सञ्जिवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो कार्यालय भवन निर्माणको शिलान्यास गरेको छ ।

संस्थाका पूर्वअध्यक्ष चक्रप्रसाद खरेलसहित सञ्चालक र कर्मचारीहरुले वैदिक विधिपूर्वक बुधबार भवनको शिलान्यास गरेका हुन् । भवनको निर्माण यही मंसीर १५ गतेदेखि गर्नेगरी सबै तयारी पूरा गरिएको संयोजक शिवबहादुर कट्वालले बताएका छन् ।

संजिवनी साकोस १८ वर्ष प्रवेश गरेको अवसरमा शुभ साइत जुराएर बुधबार भवनको शिलान्यास गरिएको र निर्माण सुरु गरिएको ६ महिनामा सम्पन्न गर्ने गरी द्रुत गतिमा काम गरिने अध्यक्ष यामकुमार चुडालले जानकारी दिए ।

केही वर्ष पहिले नै निर्माण थाल्ने गरी बजेट व्यवस्थापन गरी भवनको डिजाइनसमेत पूरा गरिसकेको संस्थाले देशभर फैलिएको आर्थिक मन्दीका कारण संजिवनीका सदस्यहरुलाई अप्ठ्यारो नपरोस् भन्ने ध्येयले तत्काल निर्माण नगरिएको अध्यक्ष चुडालले सुनाए ।

तीन तले भवनको भुइँतल्ला ब्यापारिक प्रयोजनका लागि भाडामा दिइने, संजिवनी साकोसलाई पहिलो तल्लामा सञ्चालन गर्ने तथा दोस्रो तल्लामा बिर्तामोड संजिवनी इनभेष्टमेन्ट कम्पनी प्रालिका लागि छुट्याइने अध्यक्ष चुडालले बताए ।

करिब १ करोड २५ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको २६ बाई ५२ को उक्त तीनतले भवन निर्माण गर्न ठेक्का प्रक्रिया लगभग पूरा भएको पनि निर्माण समितिका संयोजक कट्वालले बताए ।

संस्था सञ्चालक समितिको बैठकले कट्वालको संयोजकत्वमा अनिता गौतम र तारा कार्की सदस्य रहेको निर्माण समिति तथा मेघराज बाँस्तोलाको संयोजकत्वमा मिलन कोइराला र डम्बरबहादुर बस्नेत सदस्य रहेको अनुगमन समिति बनाइएको अध्यक्ष चुडालले जानकारी दिए ।

सम्बन्धित खबर