२०८१ पौष १३, शनिवार , ११:१०:४० बजे

Sajhamanch
'

झापाको दोमुखालाई पर्यटकको उत्कृष्ट गन्तव्य बनाइँदै

बुधवार, मंसिर ५, २०८१
  • सरोज भट्टराई

शिवसताक्षी । झापाको पर्यटकीय स्थल दोमुखामा शिवसताक्षी नगरपालिकाले इन्टरलक ब्लक लगाएको छ । शिवसताक्षी नगरपालिका वडा न. १० मा पर्ने पर्यटकीय क्षेत्र दोमुखा पिकनिक स्पोट तथा स्वीमिङ पूल जाने बाटोमा पार्केटिङ्ग ब्लक लगाएर चिटिक्क पारिएको हो ।

नगरले आन्तरिक तथा बाह्य पर्यटकका लागि सडक विस्तारलाई तीब्रता पनि दिएको जनाएको छ । दोमुखा सडकको प्रवेशद्वार माइधरमा नयाँ गेट निर्माण गरिएको नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिए । उनले पर्यटक आकर्षणका लागि दोमुखा जाने प्रमुखद्वारदेखि नै सुधार गर्दैै लगेको बताए ।

‘गेट, सडक र दोमुखा दक्षिण व्यवसायिक होटलहरु र पिकनिक स्थल हुँदै स्वीमिङ्ग पूलसम्म जाने सडक निर्माण भइसकेको छ’ नगर प्रमुख थोप्राले भने, ‘दोमुखालाई प्राकृतिकरुपमा सुन्दर बनाउन लागिपरेका छौं ।’

हाल निर्माण भएको सडकका दुवैपट्टी रात्रीकालिन उज्यालो बनाउन चालू आर्थिक वर्षमा नै सडक बत्ती लगायत झिलिमिली बत्ती जडान गर्ने योजना रहेको नगर प्रमुख थोप्राले जानकारी दिए । दोमुखामा बेलुका पनि पर्यटकहरु आउन सक्ने वातावरण बनाउन सन्ध्याकालिन कार्यक्रमहरुको समेत आयोजना गरिने योजना रहेको उनको भनाई छ । हाल पार्केटिङ्ग क्लक लगाइएको क्षेत्रमा पिकनिङ स्पोट, स्वीमिङ्ग पूल, चिल्ड्रेन पार्क र पर्यटकहरुलाई बस्नको लागि सुविधा सम्पन्न होटलहरु छन् ।

हाल निर्माण भएको सडक ७३० मिटरको रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । पार्केटिङ्ग ब्लक भ्याट र कन्सलटेन्सीसहित ८४ लाख ६१ हजार ५५० रुपैयाँमा भिमेश्वर कन्स्ट्रसन प्रालिले काम गरेको इन्जिनियर उत्तम बरालले जानकारी दिए । निर्माणाधिन सडक ६ मिटर चौडाईमा ६० एमएम मोटाईको ब्लक लगाइएको छ ।

दोमुखा प्रवेशद्वारमा दुईमुखे गेट निर्माण

झापाको पर्यटकीय क्षेत्र दोमुखा प्रवेशद्वार माइधारमा दुईमुखे आकर्षक गेट निर्माण भएको छ । चाइनिज इँटा गेटको माथिल्लो भागमा टायल्स र मार्वल प्रयोग गरेर निर्माण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

उक्त स्थानमा साविकको सतासीधाम गाविसले निर्माण गरेको गेट जीर्ण अवस्थामा रहेको थियो । नवनिर्मित गेट र दोेमुखा जाने सडकको लागत एउटै ठेक्का मार्फत गराइएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

सजिसजाउ दोमुखा पार्क

दोमुखाको पार्क जाने सडक आकर्षक बनाइएको छ । यस वर्षको पिकनिकको सिजन सुरु भएसँगै दोमुखा पार्कमा छाता लगाएर सजिसजाउ पारिएको हो । पर्यटकका लागि फोटो सुट, भिडियो सुट, टिकटक लगायतका सामग्री निर्माण गर्न दोमुखा पर्यटन विकास समितिले पार्कलाई सजिसजाउ गरेको जनाएको छ ।

जसमा ४५ हजार रुपैयाँको लागतमा ३०० थान छाता राखिएको दोमुखा पर्यटन विकास समितिका अध्यक्ष धनप्रसाद लावतीले जानकारी दिए । अध्यक्ष लावतीका अनुसार चालू आवमा कपल फोटो सुटका ४ ओटा आकर्षक झुला, पिङ निर्माण गरिनेछ । दोमुखामा गुफासमेत निर्माण गरिने दोमुखा पर्यटन विकास समितिले जनाएको छ ।

शौचालय निर्माण

दोमुखा घुम्न आउने पर्यटकको सुविधाका लागि पर्यटन विकास समितिले शौचालय पुनःनिर्माण गरेको छ । धारा, पानी लगायत सुविधा थपेको जनाएको छ । पिकनिट स्पोटमा ४ वटा टहरा थप निर्माण गरेको छ । दोमुखा पार्कस्थलमा २ वटा शौचालय छन् । हाल निर्माण भएको स्वीमिङ पूल जाने सडक पूर्व पिकनिक स्पोटमा रहेको छ ।
होटल व्यवासयी उत्साहित

पर्यटकीय स्थल दोमुखमा स्थानीय सरकार तथा पर्यटन विकास समितिले लागनी गरसँगै यहाँका होटल व्यवसायीहरु उत्साहित बनेका छन् । दोमुखा क्षेत्रमा नयाँ होटलहरु पनि थपिएका छन् । जसमा खान बस्नको सुविधायुक्त ७ वटा होटलहरु छन् भने, अन्य ३० वटा साना होटलहरु छन् ।

कोरोनाको लहरपछि लामो समय पर्यटकको आगमनमा कमि भएपनि अघिल्लो वर्षदेखि पर्यटकको संख्यामा बृद्धि भएको शिवम् होटलका सञ्चालक किरन ओलीले जानकारी दिए । उनले हाल विभिन्न संघ संस्थाहरुले पनि दोमुखामा कार्यक्रमहरु गर्ने र टाढाबाट पनि पर्यटकहरु आउने भएकाले होटलहरु विगत वर्षहरु भन्दा चलायमन नै देखिएको जानकारी दिए ।

विशेष गरी मंसिरदेखि चैत महिनासम्म आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन् । उनले भने, ‘स्थानीय सरकार र दोमुखा पर्यटन विकास समितिले यहाँको विकासमा चासो देखाएर काम गर्दै आएको छ । हामी आशावादी छौं यहाँका होटल तथा अन्य व्यवसायहरु अब पक्कै फस्टाउने छन् ।’

सम्बन्धित खबर