चुलाचुली (इलाम) । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नयाँ अस्पताल निर्माण थाल्नुभन्दा पनि निर्माण सम्पन्न भएका अस्पतालमा आवश्यक उपकरणसहित जनशक्ति व्यवस्थापन गर्नेतर्फ सरकार लागेको बताएका छन् ।
आइतवार इलामको चुलाचुली गाउँपालिकामा नगर अस्पतालको उद्घाटनका क्रममा मन्तव्य व्यक्त गर्दै मन्त्री पौडेलले सो कुरा बताएका हुन् । ‘अहिले देशभर ४७ वटाभन्दा बढी नयाँ अस्पतालहरु निर्माण भइसकेका छन् । तर ती अस्पतालमा आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्न नसक्ता सञ्चालनमा आउन सकेका छैनन् । त्यसैले अब ती अस्पतालहरुमा आवश्यक जनशक्ति र उपकरण व्यवस्था गर्नेतर्फ मन्त्रालयले काम गरिरहेको छ’ मन्त्री पौडेलको भनाई थियो ।
आगामी दिनमा अस्पताल निर्माण गर्दा आवश्यकताको आधारमा र अस्पतालले प्रदान गर्ने सेवाको आधारमा तिनको वर्गीकरण गरिनेसमेत मन्त्री पौडेलले जानकारी दिए । उनले स्वास्थ्य बीमाङ्कलाई वृद्धि गरेर ५ लाख रुपैयाँ पुर्याउने आफूले प्रस्ताव गरेको पनि बताए ।
सो अवसरमा चुलाचुली अस्पताल निर्माणका लागि जग्गा प्रदान गर्ने दातासहित निर्माण सहयोगार्थ सञ्चालित महायज्ञमा सहयोग गर्ने दाताहरुलाई सम्मान पनि गरिएको थियो ।
अस्पताल उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनका लागि मन्त्री पौडेललाई मागपत्र पनि बुझाएका थिए । उनले महायज्ञ सञ्चालनका लागि सहयोग गर्ने सबैलाई गाउँपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।