अर्जुनधारा । चौंथो खुदुनाबारी गोल्डकपको फाइनल प्रवेशका लागि आज मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाबिच प्रतिस्पर्धा हुँदैछ । गोल्डकपको दोस्रो सेमिफाइनलमा आज भद्रपुर र मेचीनगर बिच खेल हुने छ ।
आजको खेलको विजेताले कम्तिमा दोस्रो पुरस्कार सुरक्षीत गर्ने छ । अर्जुनधारा–३ खुदुनाबारीस्थित कैदले प्राकृतिक रंंगशालामा जारी प्रतियोगिताको आइतबार भएको पहिलो सेमिफाइनलबाट शिवसताक्षी विजयी बनेको छ ।
बिर्तामोड नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै शिवसताक्षीले फाइनलमा स्थान सुरक्षीत गरेको हो । आज हुने खेलको विजेताले मंसीर ५ गते शिवसताक्षीसंग फाइनलमा प्रतिस्पर्धा गर्ने छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार २११ रुपैयाँ र उपविजेताले नगद ५५ हजार ६ ५५ रुपैयाँसहित ट्रफी तथा मेडल पुरस्कार पाउने छ ।
प्रतियोगिताको बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार प्रदान गरिने छ ।
गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त रुपमा आयोजना गरेको हो । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।