२०८१ पौष ५, शुक्रवार , ०७:५०:५७ बजे

Sajhamanch
'

झापाका पत्रकारहरुमाझ चलचित्र अग्निदहनको टिम

बिहिवार, कार्तिक २९, २०८१

बिर्तामोड । सामाजिक विषयवस्तुमा आधारिता नेपाली चलचित्र ‘अग्निदहन’ बोक्सी सम्बन्धी अन्धविश्वास चिर्न सहयोगी बन्ने यसका निर्माता, निर्देशक तथा कलाकारहरुले दावी गरेका छन् ।

५ वर्ष अघि निर्माण गरी यसको प्रभावक्षेत्रमा प्रदर्शन भइसकेको चलचित्र अग्निदहन यही मंसिर ७ गतेदेखि व्यवसायिक प्रदर्शनमा आउने भएको जानकारी गराउँदै प्रवर्धनमा निस्केका उनीहरुले यस्तो दावी गरेका हुन् ।

‘मान्छे बोक्सी हुन्न’ भन्ने सन्देश बोकेको सो चलचित्र मंसिर ७ गतेदेखि देशभरका हलमा एकसाथ प्रदर्शनमा आउने भएको हो । चलचित्रको ‘प्रमोसन’का लागि पूर्व आएको चलचित्र युनिटले झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी चलचित्र प्रदर्शनबारे जानकारी दिएको हो ।

चलचित्रका निर्देशक घनश्याम लामिछानेले समाजमा रहेको बोक्सी सम्बन्धी अन्धविश्वास अन्त्य गर्ने उद्देश्यले चलचित्र निर्माण भएको बताए । ‘अग्निदहन’ २०७५ सालमै निर्माण भए पनि चलचित्रमा केही परिमार्जित गरी ९० मिनेट ठूलो पर्दामा देखाउन लागिएको उनको भनाई छ ।

“बोक्सी सम्बन्धी घटना भएका स्थानमा ५०० वटा निःशुल्क शो भइसकेको छ”, निर्देशक लामिछानेले भने “घटना भएकै ठाउँमा आमनागरिकलाई सुसूचित गरेर बोक्सी भन्ने कुरा हुँदैन भन्ने जनचेतना जगाउने काम भइसकेको छ ।”

चलचित्रलाई अझ व्यापक बनाएर समाजमा कलंकको रुपमा रहेको बोक्सी प्रथा अन्त्यका लागि चलचित्र निर्माण र प्रदर्शनीमा जोड दिइएको निर्माता मोहनराज पौडेलले जानकारी दिए । “बोक्सी आरोपमा एक महिलालाई यातना दिएको प्रत्यक्ष देखेपछि यसको अन्त्य गर्नुपर्छ भनेर लागेको छौं”, उनले भने, “नेपालबाट यो कुप्रथाको अत्यका लागि चलचित्र बनाएका हौं ।” चलचित्रबाट हुने आम्दानी बोक्सी प्रथा अन्त्यकै लागि खर्च गरिने उनको भनाई छ ।

चलचित्रका मुख्य कलाकार प्रकाश घिमिरेले “चलचित्रको माध्यमबाट समाजलाई सही दिशा निर्देशन गर्न सकिन्छ भन्ने निश्कर्षका साथ सामाजिक अभियानका रुपमा यस चलचित्रमा काम गरेको छु, चलचित्रले बोक्सी हुँदैन भन्ने सन्देश दिएको” बताए ।

चलचित्रमा मुख्य महिलापात्रको भूमिका निर्वाह गरेकी कलाकार प्रमिला तुलाचनले बोक्सी जस्तो कुप्रथामा अन्त्य गर्न चलचित्रमा अभिनय गरेको सुनाइन् । “म सामाजिक काम गर्न रुचाउँछु”, उनले भनिन्, “चलचित्रमार्फत समाजलाई सही मार्ग डोहोर्याउने हाम्रो प्रयास हो ।”

चलचत्रि ‘अग्निदहन’ मोहनराज पौडेल मुख्य संरक्षक रहेको मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानको ब्यानमा बनेको हो ।

चलचित्र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका उच्च तहका व्यक्तित्वहरुले हेरिसकेका र चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।

चलचित्र पत्रकार संघ झापाको संयोजनमा भएको कार्यक्रमको सञ्चालन संघका अध्यक्ष रमेश तिवारीले गरेका थिए ।

पत्रकार अन्तरक्रिया सम्बन्धी भिडियो तलको लिङ्कमा

सम्बन्धित खबर