२०८१ पौष २५, बिहिवार , ०१:५८:०० बजे

Sajhamanch
'

दूधे रंगशालामा मैदान तयार, प्यारापिट निर्माण गरिँदै, आगामी वर्षदखि खेल सञ्चालन गर्ने लक्ष्यमा नगरपालिका

बिहिवार, कार्तिक २९, २०८१
  • सरोज भट्टराई

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको दूधेमा निर्माणधिन नगरस्तरीय रंगशालाको खेल मैदान अन्तिम तयारी अवस्थामा रहेको छ । खेल मैदानका लागि रोपिएको झार हरियो भएको छ ।

हाल रंगशालामा मञ्च र चेञ्जिङ रुमको निर्माण भइरहेको छ । चार वर्ष भित्रमा रंगशाला पूर्णरुपमा तयार पार्ने लक्ष्य लिएको शिवतसाक्षी नगरपालिकाले जनाएको छ । प्यारापिटको काम सम्पन्न भएपछि एकैपटक २५ हजार दर्शकले खेल हेर्न सक्नेछन् ।

पछिल्लो समय शिवसताक्षी नगरपालिकाले खेलकुदप्रेमीको भावना अनुसार स्थानीय र केन्द्रीय बजेटसमेतको माग गरी रंगशाला निर्माणको काम अघि बढाएको हो । नगरपालिका र जनसहभागितामा रंगशाला निर्माणको काम धमाधम भइरहेको हो । स्थानीयले रंगशाला निर्माणमा साथ दिँदा बहुवर्षे योजना अगाडि बढ्न सम्भव भएको जनाइएको छ ।

रंगशालामा प्यारापिट, मञ्च र चेञ्जिङ रुम निर्माणका लागि १ करोड १० लाख रुपैंयाँ बजेट अघिल्लो आर्थिक वर्षमा विनियोजन भएकामा स्टेजसहितको प्यारापिटको संरचना निर्माण गरिसकिएको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा नगरबाट ५० लाख बजेट विनियोजन भएको छ ।

उनले भने, नगरले ५० लाखमा थुप्रै काम गर्नेछ । चालु आवमा भिआइपी बस्ने स्थलमा ट्रष्टको छानो लगाउने र हाल निर्माण भएको प्यारापिटबाट दक्षिण पनि अर्को प्यारापिट र शौचालय निर्माण गर्नेडिपीआर बनाइएको छ । यसवर्ष खेल मैदान र प्यारापिटको काम सम्पन्न गरेर आगामी वर्षदेखि खेल सञ्चालन गरिने नगरप्रमुख थोप्राको भनाई छ ।

थोप्राले भने, यो नगर गौरवको आयाजना पनि र झापामा फुटबलको जुन क्रेज छ, त्यसमा केही गरौं भनेर हामीले ठूलो लगानी यहाँ गरेका हौं ।

झापाका दर्शकमा देखिएको फुटबल खेलको क्रेजलाई विश्वब्यापी रुपमा परिचित गराउन सुविधा सम्पन्न भौतिक संरचना निर्माण गर्नुपर्ने आवश्यकता बमोजिम रंगशाला निर्माणको काम सुरु गरिएको हो । झापाका स्थानीय तहमध्ये सुविधा सम्पन्न रंगशालाको अवधारण अनुसार काम गरेको शिवसताक्षी पहिलो हो । रंगशालाको अभावमा झापामा अस्थायी प्यारापिट निर्माण गरेर फुटबलको विभिन्न प्रतियोगिता आयोजना हुँदै आएका छन् ।

नगरकै गौरवको आयोजनालाई समय मै गुणस्तरीय काम गर्न समय समयमा अनुगमन गरिँदै आएको नगर उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् । कार्कीका अनुसार रंगशालामा कम्पाउण्ड र खेल मैदानमा ट्रेन सम्पन्न भइसकेका छन् ।

खेल मैदानमा एक महिना अघि रोपिएको झार हुर्किएर हरियो अवस्थामा पुगेको छ । झारलाई दैनिक पानी हाल्ने काम भइरहेको खेल मैदान निर्माण समितिका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।

दमकदेखि माइधारसम्मको सो क्षेत्रमा दर्जनौ खेल मैदान भएपनि ब्यवस्थित नहुँदा ठूला प्रतियोगिता आयोजना गर्न कठिनाइ हुँदै आएको छ । पाडाजुँगीमा आदिवासी रंगशाला निर्माण हुने चर्चा चले पनि राजनीतिक विवादका कारण निर्माणमा ढिलाई भएको छ । दूधे रंगशाला निर्माण सम्पन्न भएपछि फुटबल लगायत खेलकुदका गतिविधिमा फड्को मार्न सकिने नगरको अपेक्षा छ ।

भद्रपुरमा रहेको मेची रंगशाला पनि हालसम्म अधुरो छ । रंगशाला निर्माणले पूर्णता नपाउँदा दुई वर्ष पहिले सम्पन्न भद्रपुर झापा गोल्डकप हेर्नका लागि अस्थायी प्यारापिट निर्माण गर्नुपरेको परेको थियो । शिवसाक्षीकोे यो रंगशाला बनेपछि जिल्लाको पहिलो व्यवस्थित रंगशालाका रुपमा सूचिकृत हुने नगरपालिकाको विश्वास छ ।

सम्बन्धित खबर