२०८१ पौष ११, बिहिवार , ०१:५४:४१ बजे

Sajhamanch
'

भद्रपुर जेसीजले जीपी भवनका विषयमा आवाज बुलन्द पार्दै सुरु गर्यो जेसीज सप्ताह

सोमवार, कार्तिक २६, २०८१
  • रोहित काफ्ले

भद्रपुर । सामाजिक सरोकारका विषयलाई उजागर गर्दै वहस र छलफलद्वारा सकारात्मक परिणामका लागि सदैव अग्रणी भूमिका निर्वाहा गर्दै आएको भद्रपुर जेसीजले भद्रपुरमा ठूलो लगानीमा निर्माण सुरु भएर हाल अलपत्र अवस्थामा रहेको स्व. गिरिजाप्रसाद कोइराला स्मृति बहुउद्देश्यीय भवनको विषय उठान गर्दै आइतबारदेखि जेसीज सप्ताह सुरु गरेको छ ।

निर्माणाधीन तर जीर्ण अवस्थामा पुगेको जीपी भवनको दोस्रो तलामा कार्यक्रम आयोजना गरेर जेसीज सप्ताह सुरु भएको हो । सरोकारवाला सरकारी निकाय, जनप्रतिनिधि र राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्ने राजनीतिक दलका नेतृत्वहरुलाई सहभागी गराइएको कार्यक्रममा झापाको सदरमुकाममा रहेको बहुउद्देश्ययि सार्वजनिक महत्वको भवन यति लामो समसयसम्म निर्माण सम्पन्न हुन नसक्नुका कारण खोतल्दै कसले के गर्न सक्दा भवन पूर्णरुपमा निर्माण सम्पन्न भई सञ्चालनमा आउन सक्छ भन्ने विषयमा वहस र छलफल गरिएको थियो ।

भद्रपुर जेसीजका अध्यक्ष टिकाराम पाण्डे ‘दिपक’को अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन जीपी भवनको प्रमुख सरोकारवाला निकाय जिल्ला समन्वय समितिका प्रमुख विश्वराज बरालले गरेका थिए ।

भद्रपुर जेसीजका महासचिव सरोज ढकालले सञ्चालन गरेको कार्यक्रममा जिसस प्रमुख बरालले विभिन्न कानूनी अड्चनहरुका कारण जीपी भवन निर्माण सम्पन्न हुन नसकेको बताए । उनले जिल्ला समन्वय समतिले जीपी भवनलाई महत्वका साथ हेरिरहेको बताउँदै यसका लागि आफूले संघीय सरकारका सरोकारवाला सबै मन्त्रालयहरुको ढोका ढक्ढक्याएको तर निराशा मात्रै हात लागेको जानकारी दिए ।

उनले कर्मचारी संयन्त्रले विभिन्न कारण देखाएर यो विषयलाई अघि बढाउन नसकेको आफूले पाएको पनि अवगत गराए । ‘यो धेरै पुरानो योजना भयो, यसमा हात हाल्न सम्बन्धित कर्मचारी संयन्त्र डराउने गरेको मैले पाएँ’, उनले भने– ‘उच्चस्तरीय राजनीतिक निर्णयबाट मात्र यसको निकास निस्कन सक्छ भन्ने मलाई लाग्छ ।’

कार्यक्रमका अर्का वक्ता भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले करिब ९ करोड रुपैयाँ खर्च भइसकेर पनि जीपी भवनले पूर्णता पाउन नसक्नु दुखद भएको बताउँदै आफ्नो नगरमा भएको यो भवनको पूर्णताका लागि आफूले लगातार पहल गर्दै आएको तर उपलब्धि हासिल हुन नसकेको जानकारी दिए । उनले कुनै बाधा–अड्चन भए फास्ट ट्र्याकबाट ती अड्चन फुकाएर यथाशीघ्र भवन निर्माण गर्नेतर्फ सबै लाग्नुपर्ने धारणा राखे ।

भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीलगायत भद्रपुरका अधिकांश जनप्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा सहभागीहरुले सरकारीस्तरबाट भवन निर्माणको बाँकी काम हुन नसक्ने भए नागरिकस्तरबाट निर्माण गर्नेगरी मार्ग प्रशस्त गरिदिन सम्बन्धित सरोकारवाला सरकारी निकायहरुलाई आग्रह गरे । कार्यक्रममा सबै राजनीतिक दलका प्रतिनिधिले जीपी भवन यथासक्य चाँडो निर्माण सम्पन्न भई सञ्चालनमा आउनुपर्नेमा जोड दिएका थिए ।

नेपाली कांग्रेस भद्रपुर नगर समिति सभापति रामबहादुर कँडेल, नेकपा एमालेका भद्रपुर नगर कमिटी अध्यक्ष निर्माण नेपाल, नेकपा माओवादी (केन्द्र) भद्रपुर नगर कमिटी अध्यक्ष हंशधर राजवंशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका झापा जिल्ला सचिव अभिषेक ढुंगानालगायते धारणा राखका थिए । नागरिकस्तरबाट दुर्गाप्रसाद भट्टराई, तोयानाथ गड्तौला, लोकनाथ भट्टराई, जय तिम्सिना, राजेन्द्र भट्टराई, टिकाराज ढकाललगायतले जीपी भवनको अधुरो काम तत्काल सुरु गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमले जीपी भवन पूर्णताका लागि सामुहिक प्रयास सुरु गर्ने निष्कर्ष निकालेको भद्रपुर जेसीजका अध्यक्ष पाण्डेले जानकारी दिए । त्यसका लागि मंसिरको पहिलो साता जिल्ला समन्वय समितिका प्रमुख, भद्रपुर नगरपालिकाका प्रमुख, जेसीजका प्रतिनिधि, राजनीतिक दलहरुका प्रतिनिधिलगायतको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेटेर पहिलो चरणको ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको पनि अध्यक्ष पाण्डेले जानकारी दिए ।

भद्रपुर जेसीजका उपाध्यक्ष ताथ पहिलो कार्यक्रमका संयोजक हेडम्बराज निरौलालले स्वागत गरेको कार्यक्रममा जेसीज सप्ताह मूल आयोजक समितिका संयोजक तथा जेसीजका कार्यकारी उपाध्यक्ष अभिषेक प्रधानले जेसीज सप्ताहभरि भद्रपुर जेसीजले आयोजना गर्ने कार्यक्रमहरुका बारे जानकारी गराएका थिए ।

उनका अनुसार २६ गते बिहान पर्यटन प्रवर्धनका लागि साइकल यात्रा, २७ गते भद्रपुर १० स्थित जेसीज गाउँमा शैक्षिक सामग्री वितरण र बालबालिकासँग जेसीज कार्यक्रम, २८ गते अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता, २९ गते हिमाली माविमा नाक, कान, घाँटीसम्बन्धी बृहत स्वास्थ्य शिविर र जनप्रतिनिधि र जेसीजबीच मेची रंगशालामा मैत्रीपूर्ण फुटबल र ३० गते अन्तिम दिन पुरस्कार वितरणसहित गन्धर्व साँझका साथ जेसीज सप्ताह समापन हुनेछ ।

सम्बन्धित खबर