२०८१ पौष ११, बिहिवार , ०३:५८:५४ बजे

Sajhamanch
'

खुद्रा साकोसको १८औं वार्षिक साधारणसभा : विभिन्न विधामा १३ जना सम्मानित

आइतवार, कार्तिक २५, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको दूधे बजारमा रहेको खुद्रा बचत तथा ऋण सहकारी संस्था (साकोस)को १८औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष नारायणप्रसाद बजागाईंले आर्थिक वर्ष २०८०/८१ मा १ करोड ४४ लाख ८८ हजार ८९२ रुपैयाँ आम्दानी गरी १ करोड ६३ लाख ४८ हजार ५१२ रुपैयाँ खर्च भएको विवरण प्रस्तुत गरे ।

सो अवधिमा संस्थाले ८ करोड ६४ लाख ३ हजार ५२१ रुपैयाँ बचत निक्षेप संकलन गरेको र ९ करोड ५० लाख ८४ हजार ७४६ रुपैयाँ ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

अध्यक्ष बजागाईले प्रतिवेदन प्रस्तुतिका क्रममा सहकारी क्षेत्रमा कोभिड १९ पछाडिका समयहरु प्रतिकुल हुँदै गएको बताए । ‘देशभर आर्थिक मन्दीका कारण व्यावसायीहरु धराशयी बन्दा त्यसको असर सहकारीमा पनि पर्न थालेको छ’ उनले भने, ‘यसैकारण सहकारीले अघिल्लो वर्षमा अनुमान गरेको लक्ष्यमा पुग्न सकिरहेको छैन ।’

अध्यक्ष बजागाईले थपे, ‘कतिपय ऋणि सदस्यहरु अभियन्ता बनेर विद्रोहमा उत्रिएका समेत पाइएको छ । कतिपय ऋणिहरु डिप्रेसनको सिकार भएको विभिन्न सञ्चार माध्यमहरुबाट सुनिएको छ । यस्तो प्रतिकुल अवस्थामा पनि यस संस्थालाई बचाएर अघि बढाउन हामी सफल छौं ।’

आफ्नो वार्षिक साधारण सभाको उद्घाटन सत्रमा संस्थाले विभिन्न विधामा १३ जना सदस्यहरुलाई सम्मान पनि गरेको छ । संस्थाले कोशी प्रदेश बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष चन्द्रा खड्का भट्टराईलाई सहकारी अभियन्ताको रुपमा सम्मान गरेको थियो ।

यस्तै सम्मानित हुने संस्थाका ज्येष्ठ सदस्यहरु तर्फ छविलाल पाठक, डिकबहादुर बुढाथोकी, रन्जनादेवी जवेगु र डम्बरकुमारी ढकाल छन् ।

त्यस्तै असल बचतकर्ता तर्फ भीमबहादुर थाम्सुहाङ्ग, रुद्र बजगाई, असल ऋणीतर्फ मनिकुमारी नेम्वाङ्ग र खगेन्द्र उप्रेतीलाई सम्मान गरिएको थियो ।

त्यसैगरी संस्थाका शेयर सदस्यका छोराछोरी मध्येबाट २०८० सालको एसईई परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गर्ने ४ जनालाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

जस अनुसार सामुदायिक विद्यालय तर्फबाट आर्जु चुडाल, प्रज्वल मैनाली, संस्थागत विद्यालय तर्फका आभाष बानियाँ र मल्लिका दुलाललाई सम्मान गरिएको हो ।

संस्थाले सबैलाई नगद २ हजार ५०० रुपैयाँसहित सम्मान गरेको जनाएको छ ।

सो समारोहमा कार्यक्रमका प्रमुख अतिथि सहकारी अभियन्ता चन्द्रा खड्का भट्टराईले देशैभर वित्तीय संकट हुँदा कोभिड पछाडि वित्तीय कारोबार गर्ने सबै क्षेत्रमा समस्या पर्न थालेको बताइन् ।

सहकारीले आफ्नो कारोबार शेयर सदस्यहरुलाई चुस्त दुरुस्त देखाई अहिलेको वित्तीय संकटको सामाना गर्दै यसलाई माथि उठान भूमिका खेल्नुपर्ने उनले औंल्याएकी थिइन् । केही सहकारीले ऐन र विनियम विपरित कारोबार गर्दा समस्या आएको सुनाउँदै अभियन्ता खड्काले सहकारीका सञ्चालक एवम् कर्मचारीहरुले सहकारी ऐन र नियमावलीको परिधि भित्र रहेर कार्य गर्नसमेत सुझाइन् ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी शिवसताक्षीका सभापति गोविन्द काफ्ले, सतासीधाम खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष दिपक गिरी, सताक्षीधाम साहित्य संगमका अध्यक्ष उमानाथ दाहाल लगायतले मन्तव्य राखेका थिए ।

संस्थाको लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक धनबहादुर कटुवालले प्रस्तुत गरेका थिए भने कार्यक्रमका सञ्चालन संस्थाका लेखापाल लोकेश खनालले गरेका थिए ।

सम्बन्धित खबर