कनकाई । झापाको कनकाई नगरपालिका ३ स्थित सुरुङ्गामा भइरहेको दसैं तिहार वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि कनकाई वडा नं. ३ र ५ भिड्ने भएका छन् ।
मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ३ ले ९ लाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । यस्तै दोस्रो सेमिफाइनल खेलमा वडानम्बर ५ ले ४ लाई समान ३-० गोल अन्तरले नै पराजित गर्दै फाइनलमा वडा नम्बर ३ सँगको भेट पक्का गरेको हो ।
यहाँस्थित होटल डिलाइट र अमेरिकी भूतपूर्व सेना आशिष संग्रौलाद्वारा संयुक्तरुपमा आयोजित वडास्तरीय फुटबल प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।
प्रतियोगिता जित्ने टिमले नगद ७१ हजार र आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजयी हुने टिमले नगद ३५ हजार पुरस्कार पाउने छ । विधागत उत्कृष्ट खेलाडीले समेत नगद ५ हजारका दरले पुरस्कार पाउने आयोजकले जनाएको छ ।