२०८१ पौष १९, शुक्रवार , ०५:३६:५४ बजे

Sajhamanch
'

बिर्तामोडको पहिलो एकतर्फी बाटो ‘हिकोला रोड’, आजदेखि लागू

आइतवार, कार्तिक ११, २०८१

बिर्तामोड । झापाको ब्यस्त बजार बिर्तामोडस्थित हिकोला रोडलाई एकतर्फी बनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र बिर्तामोड नगरपालिका वडा नम्वर ५ सँग सहकार्य गर्दै बिर्तामोड उद्योग बाणिज्य संघको पहलमा आजदेखि हिकोला रोड एकतर्फी बनाइएको हो ।

बिर्तामोड बजार क्षेत्रमा दिनानुदिन भीडभाड बढ्दै जान थालेसँगै सहजताका लागि हिकोला रोडलाई एकतर्फी बनाइएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गणेश पौडेल, बिर्तामोड वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाई, विभिन्न सामाजिक संघ–संस्थाको अगुवाईमा आज आइतवार बिहानबाट हिकाला रोड एकतर्फी बनाइएको हो ।

निर्णय अनुसार काँकरभिट्टा रोडबाट कृषिथोक जाने हिकोला रोडमा सवारी साधन एकतर्फी (दक्षिणबाट उत्तर) मात्र सञ्चालन गर्न पाइनेछ । हिकोला रोडमा प्रत्येक महिनाको १५ गतेसम्म सडकको पूर्वतर्फ र १६ गतेबाट मसान्तसम्म पश्चिमतर्फ दुईपाङ्ग्रे मात्र पार्किङ गर्न पाइने भएको छ ।

हिकोला रोडमा सामग्रीहरु लोड अनलोड गर्ने ठूला सवारी साधनलाई बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म प्रवेश निषेध गर्ने र शनिश्चरे रोड ग्लोबल आइएमइ बैंक हुँदै कृषि थोकचोक (चौबाटो) सडक क्षेत्रमा पार्किङ निषेध गर्ने निर्णय भएको संघका अध्यक्ष न्यौपानेले बताए ।

हिकोला रोड एकतर्फी बनाइएसँगै लायन्स क्लव अफ बिर्तामोड सिटीले २० वटा साङ्केतिक वोर्ड प्रदान गरेको छ । लायन्स क्लवका अध्यक्ष उपेन्द्र बानियाँले साङ्केतिक बोर्ड प्रदान गरेका हुन् ।