कनकाई । झापाको कनकाई नगरपालिकामा आजदेखि वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । सुरुङ्गास्थित होटल डिलाइट र अमेरिकाका पूर्वसेना आशिष संग्रौलाले संयुक्तरुपमा प्रतियोगिता आयोजना गरेका हुन् ।
प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ३ र ७ का बीचमा भएकोमा वडा नं. ३ को टीमले जीत हासिल गरेको छ । ३ नम्बरको टीमले ७ नम्बरको टीमलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको म्यान अफ दि म्याच विजयी टिमका खेलाडी छितिज कुँबर घोषित भए । उनलाई आयोजक ख्याम ओली, आशिष संग्रौला लगायातले नगद १ हजार ५०० रुपैयाँसहित पुरस्कृत गरेका छन् ।
प्रतियोगिता अन्तरगत भोलि शनिबार २ वटा खेलहरु हुनेछन । पहिलो खेल वडा नं. ९ र १ नम्बरका बीच दिउँसो १ बजे र दोस्रो खेल वडा नम्बर ८ र ४ का बीच दिउँसो ३ बजे हुने जनाइएको छ ।
प्रतियोगिताको उद्घाटन संघीय सांसद एल पी साँबा लिम्बूले गरेका थिए । उद्घाटन मन्तब्यमा सांसद साँवाले विदेशमा रहेर पनि खेल क्षेत्रको विकासका लागि यहाँका सचेत युवाले पहल गरेको भन्दै प्रशंसा गरे ।
कात्तिक १४ गतेसम्म चल्ने दसैं तिहार कप नकआउट फुटबल प्रतियोगितामा विजयी हुने टिमले नगद ७१ हजार रुपैयाँ र दोस्रो हुने टिमले नगद ३५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।