काठमाडौं । ‘एसएमएस’ गरी धम्की दिएर पैसा मागेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने ३२ वर्षीय आकाश तामाङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
तामाङले चिनियाँ नागरिकले सञ्चालन गरेको कम्पनीको म्यानेजरको मोबाइलमा ‘एसएमएस’ गरी पैसा मागेका थिए । तामाङ त्यही कम्पनीका लेबरका रूपमा काम गर्ने कर्मचारी रहेको खुलेको छ ।
तामाङले गएको असोज २१ गते राति कम्पनीका म्यानेजरको मोबाइलमा ‘एसएमएस’ गरेर डेढ लाखदेखि दुई लाख रुपैयाँसम्म सहयोग चाहिएको र पैसा नदिएमा कम्पनीमा बम विस्फोट गराउने धम्की दिएका प्रहरीले जनाएको छ ।
तामाङलाई कम्पनीबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।