बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ५ शनिश्चरे रोडको पश्चिमतर्फ एक घरधनीले करिब २०० मिटर पक्की सडक भत्काएका छन्।
बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वितरण गरेको खानेपानीको धारामा पानी नआएको निहुमा भक्तिप्रसाद सुवेदीले कालोपत्रे सडक खनेर नोक्सान पुर्याएका हुन्।
स्थानीयवासी केदार खनालले सो सम्बन्धी जानकारी वडा नं ५ लाई गराइसकेको र छलफलका लागि समय मिलाउन सचिवलाई निर्देशन दिइसकिएको वडा सदस्य दुर्गाप्रसाद सिवाकोटीले तोक आदेश गरेका छन्।
कालोपत्रे गरिसकेको सडकको किनार भत्काएर स्थानीयवासीलाई आवतजावतमा नै कठिनाइ उत्पन्न भएको भन्दै खनालले वडा कार्यालयलाई उक्त जानकारी दिएको जनाएका छन्।
नागरिक हुनाका नाताले वडालाई तत्काल मर्मत सम्भार गर्न जानकारी होस् तथा सार्वजनिक सम्पत्ति हानि नोक्सानी गर्ने व्यक्तिबारे पनि जानकारी होस् भनेर निवेदन नै लेखेर दिएको खनालले बताएका छन् ।