काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा लुकाएर तस्करी गरिएको गाँजा मकवानपुरबाट प्रहरीले बरामद गरेको छ ।
मंगलबार बिहान हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टबाट ३९२ किलो गाँजा बरामद गरिएको मकवानपुरका एसपी विश्वराज खड्काले जानकारी दिए ।
पालुङबाट वीरगन्ज जाँदै गरेको ना.७ ख १७७१ नम्बरको ट्याांकरभित्र लुकाएको अवस्थामा सो गाँजा भेटिएको हो । गाँजा ओसारपसारमा संलग्न दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनहरी घर भएका ट्यांकर चालक २६ वर्षीय रोशन पुरी र सहचालक २२ वर्षीय धनबहादुर मल्ल छन् ।
ट्यांकरको पाँचवटा डिब्बाहरुमध्ये ३ नम्बर डिब्बामा २५ वटा पोका बनाएर लुकाएको अवस्थामा गाँजा बरामद गरिएको एसपी खड्काले जानकारी दिए । आरोपीहरुविरुद्ध प्रहरीले लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।