२०८१ पौष ६, शनिवार , ०९:५५:३९ बजे

Sajhamanch
'

आदर्श साकोस दूधेको वार्षिक कारोबार ८८ करोड ५२ लाख भन्दाबढी

बिहिवार, असोज १७, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षीस्थित दूधेमा सञ्चालित आदर्श बचत तथा ऋण सहकारी संस्थाको १९औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले शिवसताक्षी ७, ९, १० र ११ नं. वडाका शेयर सदस्यहरुलाई सहभागी गराई दूधेमा इकाइगत साधारण सभा गरेको हो ।

संस्थाका अध्यक्ष चन्द्र थापा प्रस्तुत गरिएको प्रतिवेदनमा आ.व. २०८०/०८१ मा आदर्श साकोसले २१ लाख ३९ हजार ९९ रकम खुद नाफा गरेको उल्लेख छ । २०६२ सालमा डिभिजन सहकारी कार्यालय भद्रपुरमा २६ जना शेयर सदस्यको ५२ हजार रुपैयाँ संकलन गरी दर्ता गरिएको सो सहकारीले १८ वर्ष पूरा गर्दा २ हजार ७०९ सदस्य बनाएको उल्लेख छ ।

संस्थामा हाल शेयर पूँजी १ करोड ८५ लाख ६४ हजार ४०० रुपैयाँ, जगेडा कोषहरु १ करोड १७ लाख १४ हजार १०८ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले आ.व. २०८०/०८१ मा ८८ करोड ५२ लाख ८२ हजार ६१३ रुपैयाँ बराबरको कारोबार गरेको अध्यक्ष थापाले जानकारी दिए ।

सो कार्यक्रममा अध्यक्ष थापाले २०८१/०८२ लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक विष्णुलाल भट्टराईले प्रस्तुत गरे । उनले गएको वर्ष संस्थाले गरेको सम्पूर्ण कारोबारको बारेमा प्रष्ट्याएका थिए ।

संस्थाले गएको आश्विन १२ गतेबाट वार्षिक साधारण क्षेत्र विभाजन गरी सुरु गरेको संस्थाका व्यवस्थापक प्रकाशचन्द्र पोख्रेलले जानकारी दिए । उनले शिवसताक्षीको डुँडामारी, पाँचगाछी र दूधेमा इकाइगत साधारण सभा सम्पन्न गरेको बताए ।

आगामी आश्विन १९ गते संस्थाको कार्यालयमा माइन्युट प्रमाणिकरण गर्दै संस्थाले सम्पूर्ण साधारण सभाका कामहरु सम्पन्न गर्ने साकोसले जनाएको छ ।

दूधेमा मुख्य कार्यालय रहेको संस्थाले शिवसताक्षीको बोलोचोकमा सेवा केन्द्रसमेत सञ्चालन गर्दै आएको छ ।