काठमाडौं ।आईसीसी महिला टी-२० विश्वकप आजदेखि सुरु हुँदैछ।कात्तिक ४ गतेसम्म यूएईमा हुने महिला टी-२० विश्वकपमा २०२४ मा १० टिमको सहभागिता रहेको छ। बंगलादेशमा आयोजना हुने तालिका रहे पनि त्यहाँको राजनीतिक उथलपुथलले प्रतियोगिता यूएईमा सारिएको हो।
बंगलादेशमा ठुलो राजनीतिक अस्थिरताले अन्तर्राष्ट्रिय क्रिकेट परिसद् आईसीसीले बंगलादेशमा आयोजना हुने तालिका रहेको महिला टी-२० विश्वकप अन्यत्र सारेको हो।प्रतियोगिताको समूह ए मा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया, भारत, पाकिस्तान, न्यूजिल्याण्ड र श्रीलंका छन्। समूह बी मा बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्याण्ड रहेका छन्।
प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको उद्दघाटन खेलमा आज बंगलादेशले शारजाहमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ। खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ।टी-२० विश्वकपमा एक दिनमा अधिकतम दुई खेल खेलिनेछ। आजै पाकिस्तान र श्रीलंका भिड्नेछन्। यी दुईबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ। प्रतियोगितामा सेमिफाइनल र फाइनलसहित २३ हुने छन्।
नवौं संस्करणको आईसीसी महिला टी-२० विश्वकप मा बंगलादेश आयोजकको रुपमा छनोट भएको हो भने अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र वेस्ट इन्डिज आईसीसी टी-२० विश्व कप २०२३ का शीर्ष ६ टोलीको रुपमा प्रतियोगिताका लागी सिधै छनोट भएका हुन् । पाकिस्तान २७ फेब्रुअरी २०२३ मा शीर्ष वरियताको टोली तथा स्कटल्यान्ड र श्रीलंका आईसीसी टी-२० विश्वकप छनोट पार गरेर विश्व कपका लागी योग्य भएका हुन्।
यस पटककको महिला टी-२० विश्वकप दूबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम र शारजाह क्रिकेट स्टेडियममा आयोजना हुने छन्। प्रतियोगिताको पुरस्कारमा मात्र ७९ लाख ५८ हजार अमेरिकी डलर भन्दा बढी रकम खर्च हुने छ।
यस पटकको महिला टी-२० विश्वकप विजेता, उपविजेता सहित सहभागी अन्य टोलीले यसै बर्ष अमेरिका र वेस्इ-न्डिजमा सम्पन्न पुरुष टी-२० विश्वकपमा पुरुष टिमले पाए समान पुरसकार प्राप्त गर्ने छन्। महिला टी-२० विश्वकप विजेता टोलीलाई २३ लाख ४० हजार अमेरिकी डलर प्रदान गरिने छ। उपविजेता टिमले ११ लाख ७० डलर प्राप्त गर्ने छन्। सेमिफाइनलमा पराजित हुने दुबै टिमलाई समान ६ लाख ५७ हजार डलर दिइने छ।