२०८१ पौष १४, आइतवार , ११:०३:१५ बजे

Sajhamanch
'

कुटीडाँडास्थित सानो पाथीभरामा असोज १९ गते १९औं भण्डाराको तयारी

सोमवार, असोज १४, २०८१

बिर्तामोड । इलामको रोङ गाउँपालिकाको कुटीडाँडास्थित पाथीभरा मन्दिरमा यसवर्ष पनि भण्डाराको तयारी गरिएको छ ।

हरेक वर्षको बडादशैं र चैते दशैंमा बिर्तामोडका व्यवसायीहरुको समूह पाथीभरा भण्डारा समितिले सामाजिक सेवा कार्यअन्तर्गत लगाउँदै आएको भण्डारा यसवर्ष यही असोज १९ गते तृतीया तिथिमा लगाइने समितिका संयोजक सन्तोष अग्रवालले जानकारी दिए । पाथीभरामा यो १९औं भण्डारा हुनेछ ।

त्यसका लागि आवश्यक तयारी भइरहेको विर्तामोडस्थित सन्तोष भेराइटिजका सञ्चालकसमेत रहेका अग्रवालले बताए ।

‘सानो पाथीभरा’ नामले प्रख्यात इलामको पाथीभरा मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पनि सामाजिक सेवा कार्यअन्तर्गत नै पाथीभरा भण्डारा समितिले विभिन्न भौतिक संरचना निर्माणमा सहयोग गर्दै आएको चेम्बर अफ कमर्श कोशी प्रदेशका उपाध्यक्षसमेत रहेका अग्रवालले जानकारी दिए ।

निक्कै डाँडामा रहेको मन्दिर पसिरसम्म खानेपानी पुर्याउन समितिले सहयोग गरेको बताउँदै अग्रवालले व्यवसायीहरुकै सहयोगमा भरखरै मन्दिर परिसरमा पेवर्स–ब्लक बिछ्याएर भक्तजनलाई आवत–जावतामा सहजता प्रदान गरेको जानकारी दिए । यस्तै, मन्दिरको थप जीर्णोद्धार गर्नुपर्ने देखिएकोले त्यसका लागि पनि पहल भइरहेको उनले बताए ।

यसवर्ष पनि पाथीभरा माताको दर्शन गर्न आउने सम्पूर्ण भक्तजनलाई भण्डाराबाट प्रसाद तथा पानी वितरणको कार्यक्रम राखिएको जानकारी दिँदै अग्रवालले महान पर्व बडादशैंमा पाथीभरा माताको दर्शन गरी पुण्यलाभ गर्नुका साथै आन्तरिक धार्मिक पर्यटन प्रवर्धनमा सहयोग पुर्याउन आह्वान गरेका छन् ।

सम्बन्धित खबर