२०८१ पौष २४, बुधवार , ०५:२५:५४ बजे

Sajhamanch
'

अविरल वर्षाले झापासहित पूर्वको जनजीवन कष्टकर, कतै डुबान कतै सडक अवरुद्ध

शुक्रवार, असोज ११, २०८१

झापा । झापालगायत कोशी प्रदेशमा तीन दिनदेखिको जारी अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ।

भारी वर्षाका कारण प्रदेशका कतिपय स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गरेका छन्। निजी विद्यालयको छाता संगठन प्याव्सन, एन प्याव्सनले पनि विद्यालय बन्द गराएका छन्।

अविरल वर्षाका कारण इलाम,पाँचथर,ताप्लेजुङलगायतका हिमाली तथा पहाडी जिल्लाका सडकहरू अवरुद्ध बनेका छन्। सडक भत्किएका कारण यातायातका साधन चल्न सकेका छैनन् ।

कोशी प्रदेशअन्तर्गत तराईका झापा, मोरङ र सुनसरीको जनजीवन पनि निकै प्रभावित बनेको छ। पूर्वपश्चिम राजमार्गमा अविरल वर्षाका कारण यातायातका साधन खासै चल्न सकेका छैनन् । एक ठाउँबाट अर्को ठाउँ जाने यात्रु नहुँदा यातायातका साधन थन्क्याउनु परेको यातायात व्यवसायीले बताएका छन्।

कोशी प्रदेशका मेची, निन्दा, बिरिङ, कनकाई,रतुवा, चिसाङ, सप्तकोशीलगायतका ठुला नदीमा जल सतह बढेको छ। ती नदीमा पानीको बहाव अझ बढ्न सक्ने भन्दै सतर्क रहन जल तथा मौसम विज्ञान विभाग शाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।

झापाका तीन वर्षा मापन केन्द्रले २४ घण्टामा भारी वर्षा भएको देखाएको छ । केचनामा १७९.८, गौरादहमा १६२.२ , चन्द्रगढी एयरपोर्टमा १४४.२ र अनारमनि बिर्तामोडमा ११६.६ मिलिमिटर वर्षा भएको छ ।

त्यस्तै इलामको बर्षा मापन केन्द्रहरूमा पनि वर्षा क्रमिक बढ्दै गएको देखिएको छ । कनकाई नदीमा जलस्तर २.८ मिटर पुगेकोले सतर्क रहन नेपाल रेडक्रस सोसाइटी झापाले आग्रह गरेको छ ।

पछिल्लो ३ घण्टामा झापाको गौरादह, चन्द्रगढी, केचना, अनरमनी वीरता, इलाम जिल्लाको कनकाई मैनाचुली आसपास क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ ।

सो क्षेत्र भई बहने कनकाई, मेची, विरिङ, निन्दा र अन्य स–साना खोलाहरूमा आकस्मिक बाढी तथा होचो भू–भागमा डुबानको जोखिम रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए ।

शुक्रवार, असोज ११, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर