बिर्तामोड । बिर्तामोडका व्यवसायी स्व. रतिराम वंशलको स्मृतिमा उनका छोरा सज्जनकुमार वंशलले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक राहत कोष’लाई सहयोग गरेका छन् । उनले ३१ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
संघका पूर्व उपाध्यक्षसमेत रहेका वंशलले पिताको स्मृतिमा सोह्रश्राद्धको अवसरमा संघलाई सहयोग गरेको बताए । ‘हरेक वर्ष बुवाको स्मृतिमा सामाजिक कार्यमा थोरै रकम छुट्याउने गरेको छु त्यस मध्येको एक अंश संघलाई सहयोग गरेको हुँ’ उनले भने, ‘आगामी दिनमा संघमा मेरो सहयोग रहन्छ ।’
संघका अध्यक्ष राजु न्यौपानेले वंशलबाट रकम ग्रहण गरेपछि संकलित रकम बिर्तामोडकै व्यवसायीलाई समस्यामा पर्दा सहयोग गर्ने गरी कोष स्थापना गरिएको र कोषमा एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको बताए । उनले संघले स्थापना गरेको कोषका लागि रकम प्रदान गर्ने वंशल परिवारलाई धन्यवाद दिए ।
योसँगै कोषमा सहयोग गर्ने वंशललाई सम्मानसमेत गरिएको छ । सो सम्मान पत्र संघका कोषाध्यक्ष युवराज निरौलाले बाचन गरेका थिए ।
कार्याक्रममा बिर्तामोडका व्यवसायी र संघका पदाधिकारीको सहभागिता थियो । कार्यक्रमको सञ्चालन संघका उद्योग उपाध्यक्ष विशाल थापाले गरेका थिए ।